
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैँ तिहार लगायत ठूला चाडपर्वलाई मध्यनजर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रुपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुँचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो।
त्यस्तै चाडपर्वमा सहज रुपमा आवागमन गर्नसक्ने गरी आवश्यक निगरानी र अनुमगन गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र गल्छी त्रिशुली स्याप्रुबेसी रसुवागढी सडकको दिगो र भरपर्दो रुपमा बाह्रै महिना सञ्चालन गर्न सक्ने गरी आवश्यक निर्माण र मर्मतसम्भार गरी सहज रुपमा सवारी साधान सञ्चालनको सुनिश्चिताका लागि आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तरदेशीय जोड्ने सडकको मर्मत सम्भार भइरहेको बताए। रसुवा नाकाको पुल चीनले मर्मत सम्भार गरिरहेको अवस्थामा पुल निर्माण भएपछि नेपालतर्फको सडकमा सहज रुपमा आवागमनलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए।
त्यस्तै मन्त्री दाहालले चाडपर्वका समयमा सहज रुपमा यातायात व्यवस्थाका साथै सवारीको भाडा दरको समेत नियमन गरिने जानकारी दिए। यसपटकको दशैँतिहारमा भाडा बढाउने कुनै योजना नरहेको उनको भनाइ छ।
बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए। साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।