एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

हिमाल प्रेस १ भदौ २०८२ १८:०३ | Sunday, August 17, 2025
एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा दुई हजारबढी प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म हुन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्।

उनले २०७८ मा चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए। उनले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ। यसैगरी, महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ।

सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

यसैगरी, महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने, सातदोबाटोबाट गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध गर्ने तयारी छ।

प्रचार विभाग प्रमुख गौतमले भदौ १० गतेसम्म मातहतका कमिटीलाई विधानबारे सुझाव दिन समय दिएको बताए। उनका अनुसार महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

प्रकाशित: १ भदौ २०८२ १८:०३ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast