
काठमाडौँ- हाल देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुन सक्रिय भएका कारण सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।