रूपन्देही ३ : एमालेमा चारजना आकांक्षी, रास्वपामा नौजनाले दिए निवेदन

हिमाल प्रेस २७ साउन २०८२ १३:३९
50
SHARES
रूपन्देही ३ : एमालेमा चारजना आकांक्षी, रास्वपामा नौजनाले दिए निवेदन फाइल तस्बिर

बुटवल- नेकपा एमालेले उम्मेदवार छनोटका लागि आकांक्षी पहिचान गरेको छ। एमाले क्षेत्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक आकांक्षा व्यक्त गरेका हुन्। राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि रिक्त रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन मिति तय गरिएको छ।

रास्वपाले आह्वान गरेको आवेदनमा नौजनाले निवेदन दिएका छन्। सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्। रास्वपाले आकांक्षीहरूसँग छलफल गरेको छ।

कांग्रेसले केन्द्रदेखि नै उम्मेदवारबारे आन्तरिक छलफल गरेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका नेताहरूको चर्चा छ। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले पनि पार्टीभित्र आन्तरिक छलफल गरिरहेका छन्।

राष्ट्रिय जनमोर्चाले केन्द्रीय सल्लाहकार परिषद सदस्य वामपन्थी नेता बद्रे आलमलाई उम्मेदवार बनाएको छ। मधेशवादी दलहरूले पनि साझा उम्मेदवार बनाउने गरी काठमाडौँमा छलफल गरिरहेका छन्।
रूपन्देही ३ को उपनिर्वाचनका लागि बालेन समूहका सन्तोष गिरीले आकांक्षा व्यक्त गरेका छन्।

काठमाडौँमा पत्रकार सम्मेलन गरी किरण विकले निर्दलीय उम्मेदवारी घोषणा गरेका छन्। यस्तै भैरहवाका अजयकुमार गुप्ता र बुटवल मोतिपुरका लेखनाथ गैरेले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा सामेल भएका छन्। विक र गैरे एमाले पृष्ठभूमिका युवा हुन् भने गुप्ता राप्रपाका स्थानीय नेता हुन्।

रूपन्देही-३ मा एक लाख ३९ हजार ७६४ मतदाता छन्। राप्रपाले २०७९ सालको चुनावमा समानुपातिकतर्फ नौ हजार १८३ मत ल्याएको छ। रूपन्देही-३ मा कांग्रेसको समानुपातिक मत धेरै छ। कांग्रेसले २० हजार २७८ मत ल्याउँदा एमालेले १६ हजार ९८६ मत ल्याएको थियो। यहाँबाट रास्वपाको १४ हजार १५४ मत आएको थियो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार मत ल्याएका थिए। लोसपाले पाँच हजार, जनमत पार्टीले तीन हजार ७००, माओवादी केन्द्रले दुई हजार ६०० सय, जनमुक्ति पार्टीले एक हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले एक हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए।

प्रकाशित: २७ साउन २०८२ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast