
काँक्रेविहार- भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएको राससले जनाएको छ। उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।’
बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन्। सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए।
‘जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटवासीको नाम संकलन गर्न निर्देशन दिएको छु। गृह मन्त्रालयमा समेत सोहीअनुसारको जानकारी गराएको छु’, उनले भने।
उत्तरकाशीको भीषण बाढी प्रभावित क्षेत्रमा जारी उद्धार कार्यका क्रममा ७० जनाको उद्धार गरिएको भारतीय सेनालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दूको अनलाइन संस्करणमा उल्लेख छ। अझै ५० भन्दा बढी मानिस बेपत्ता छन्। बुधबार उत्तराखण्डको उत्तरकाशी जिल्लाको धाराली सहरबाट झन्डै १९० जनालाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उत्तरकाशीमा उद्धार कार्यमा खटिएको टोलीसँग संवाद गर्दै तीव्र वर्षा भएपछि गम्भीर रूपमा प्रभावित क्षेत्रमा खटाएका छन्। त्यस्तै पीपलकोटी नजिक पहाडबाट खसेको ढुंगा-माटोले बद्रीनाथ राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या परेको छ।
उत्तरकाशी जिल्लाको बाढी गएको क्षेत्रको उद्धार कार्य तीव्र गतिमा भइरहेका बेला अधिकारीहरूले गंगोत्रीधाममा अलपत्र परेका तीर्थयात्रीको सुरक्षित उद्धारलाई उच्च प्राथमिकता दिएका छन्। महाराष्ट्रको जलगाउँ जिल्लाका १६ जना अझै सम्पर्कविहीन रहेको जलगाउँका कलेक्टर आयुष प्रसादले बताएका छन्। हराइरहेकामा स्थानीयबासी र पर्यटकसँगै श्रमिक पनि हुन सक्ने आशंका गरिएको छ। बाढीको क्षेत्रमा कैयौँ होटलहरू निर्माणाधीन अवस्थामा थिए।
उत्तराखण्डमा आरीघोप्टे वर्षाले ठूलो क्षति, नेपालमा यस्तो वर्षाको सम्भावना कति?