
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड (विश्राम अवधि) मा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन्।
संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतै उल्लेख नरहेको जिकिर गरे। नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिरहेको छु।’
कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफू निरन्तर रहेको भन्दै उनले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको बताए। खतिवडाले आफूले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ती भयो भनेर आफ्नै अनुरोधमा छानबिन भएको तर्क गरे।