मधेशमा स्वास्थ्य बिमा गराउने साढे ७ लाखभन्दा बढी

हिमाल प्रेस १९ साउन २०८२ ७:५५
6
SHARES
मधेशमा स्वास्थ्य बिमा गराउने साढे ७ लाखभन्दा बढी

धनुषा- मधेश प्रदेशमा स्वास्थ्य बिमा गराउनेको संख्या सात लाख ५० हजार नाघेको छ।

सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका मधेश प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए। यससँगै प्रदेशमा बिमा गराउनेको संख्या करिब १३ प्रतिशत पुगेको छ।

मधेश प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसंख्या छ। उनले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताए।

प्रदेश सरकारको आर्थिक सहयोगमा मधेशका सहिद परिवारलाई निःशुल्क बिमा गरिएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ४० लाखले केही सहिद परिवारलाई बिमामा आबद्ध गरिएको उनले बताए।

सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइसराइँ गरेर गएकाले पूर्ण रूपमा सहिद परिवारलाई बिमामा समावेश गर्न कठिन भएको उनको भनाइ छ।

उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बिमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ। साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप एक लाखको बिमा सीमा थप गरिएको छ।

नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ। मधेश प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो।

बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए। रासस

प्रकाशित: १९ साउन २०८२ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast