
काठमाडौँ- बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादनमा ‘अपराजिता : जीवन बदल्ने छोरीहरू’ पुस्तक सार्वजनिक भएको छ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा पुस्तक सार्वजनिक गरिएको हो।
बबरमहलस्थित साफ पल्चामा आयोजना गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष वाग्ले, महासचिव शान्ति सापकोटा, सभाध्याक्ष सिर्जना शर्मा, बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य, बाल साहित्यका अग्रज सर्जकहरु प्रा.डा. चुडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधानलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
पुस्तक हिरोइन मुभमेन्ट कार्यक्रम अन्तर्गत बालवाङ्मय तथा अनुसन्धान केन्द्रले प्रकाशन गरेको हो।पुस्तकमा जीवनमा संघर्ष गरेर सफलताको सिँढी चढेका पाँच जना छोरीको सफलताको जीवन कथा समेटिएको छ।
जसमा म्याराथन धावक मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रीत काफ्लेको जीवन कथा संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ।
लेखक वाग्लेले पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी सामग्री बन्न सक्ने बताए। उनले भने, ‘पुस्तकमा आफ्नो लक्ष्यमा पुग्न लगनशील र निरन्तर मेहनत गरी सफलता चुमेका पाँच नेपाली छोरीको सफलताका कथा समेटिएको छ। यो पुस्तक नयाँ पुस्ताका लागि एक प्रेरक स्रोत सामग्री हुनेछ।’
नील हिरा समाजकी अध्यक्ष गुरुङले रामराज्यको समयमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको रहेको चर्चा गर्दै कलियुगमा बल्ल समुदायले आफ्नो पहिचान स्थापित गर्ने अवसर पाएको बताइन् । वाग्लेजस्ता सर्जकले त्यसलाई अझैं स्थापित गर्न सघाउ पुर्याएको उनको भनाई थियो।
त्यस्तै, गायिका सुब्बाले पितृसत्तात्मक व्यवस्थामा महिलाको उपस्थिति र कार्य सधैं छायामा रहेको अवस्थामा वाग्लले सराह्रनीय कार्य गरेको उनकाे बुझाइ थियाे।