
सुमधुर आवाजकी धनी वरिष्ठ गायिका तीर्थकुमारी थापाको नेपाली गीतसंगीतका क्षेत्रमा फरक र विशिष्ट पहिचान छ। यिनको जन्म ललितपुरको सिद्धिपुर (हाल : महालक्ष्मी नगरपालिका, वडा नं. ६, सिद्धिपुर) मा २००७ साल फागुन २३ गते भएको हो। यिनको माताको नाम ज्ञानीकुमारी सिंह र पिताको नाम हर्षबहादुर सिंह हो। एसएलसीसम्मको औपचारिक शिक्षा प्राप्त गरेकी तीर्थकुमारीले ‘कलानिधि संगीत महाविद्यालय’बाट संगीतको प्रशिक्षण हासिल गरेकी हुन्।
२०२८ सालदेखि रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको औपचारिक थालनी गर्ने थापाको गायनमा अभिरुचि सानै उमेरदेखि थियो। यिनका बाजे ज्ञानवीरसिंह र बाबु हर्षबहादुर सिंह स्थानीय भजनमण्डलीमा संलग्न थिए। यिनको मखमली आवाजलाई बाजे ज्ञानवीरसिंहले समेत पहिचान गरेका थिए र ज्ञानवीर परिवारभित्र यिनको गायकीलाई उत्प्रेरित गर्ने गर्दथे।
यिनका गीत २०२८ सालदेखि रेडियो नेपालमा सुनिन थालेका हुन्। कालान्तरमा यिनले अन्य विभिन्न निजी रेकर्डिङ स्टुडियोहरूमा पनि गीत गाएकी छिन् । यिनले लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत र भजनसमेत गरी एक हजारभन्दा बढी गीत गाएकी छिन्। नेपाली भाषाका अतिरिक्त यिनले तठूलो संख्यामा नेपालभाषा (नेवारी भाषा) का गीतसमेत गाएको पाइन्छ। यसबाहेक नेपालका विभिन्न भाषाभाषीका गीत पनि यिनले गाएकी छिन्।
आफ्नो जागिरे जीवनको प्रारम्भमा तीर्थकुमारी भूमि सुधार मन्त्रालयमा कार्यरत् थिइन्। मन्त्रालयमा कार्यरत थिए- सानेपाका प्रेमबहादुर थापा। थापा तीर्थकुमारीको गायकी र उनले गाएका गीत सुनेर तीर्थकुमारीप्रति आकर्षित भएछन्। उनको तीर्थकुमारीप्रतिको एकोहोरो आकर्षण दुई वर्षसम्म चल्यो अन्ततः थापाले तीर्थकुमारीसमक्ष प्रेमप्रस्ताव राखे। तीर्थकुमारीले यस प्रस्तावप्रति खासै चासो राखिनन्। तर थापाले हार मानेनन्। यिनी विवाहको प्रस्ताव लिएर २०३० सालमा तीर्थकुमारीका बाजे ज्ञानवीरसिंह महर्जनलाई भेट्न सिद्धिपुरस्थित घरमै पुगे।
आफ्नी नातिनीसँगको विवाह प्रस्तावसहित एउटा क्षेत्री युवालाई आफ्नो घरमा देख्दा ज्ञानवीर सोचमा परे। उनले प्रस्ताव सहजै स्वीकार गर्न सकेनन्। ज्ञानवीरले अनेक सूत्र प्रयोग गरेर त्यस थापा क्षेत्री परिवारका बारेमा जानकारी प्राप्त गरे। यसपछि मात्र ज्ञानवीर आफ्नी नातिनी तीर्थकुमारीको प्रेमबहादुर थापासँग अन्तरजातीय विवाहका लागि तयार भएका थिए।
लोकगायक कमल खड्कासँग गाएको ‘कहिलेमा हुने होला नानी, तिमी पीपल म वर…’ बोलको युगल गीत तीर्थकुमारीको पहिलो रेकर्ड भएको गीत हो। ‘म त खाँदिन कुवाको पानी…,’ ‘डाँडामा माथि बिहानै घाम लाग्यो तिरिरि… ‘, ‘ढुंगे बगर माया ढुंगे बगर… ‘, ‘झम्के फूली नाकैमा बुलाकी… ‘,’उकालीमा पनि हजुर मोटर जाँदो रैछ… ‘, ‘माछी मारन हो दाइ हो… ‘, ‘बारीको डिलमा ओखरबोट… ‘, ‘ दाइ काँको, दमौलीको… ‘, ‘कति बोलाऊँ सुसेली पुग्दैन… ‘, ‘तालको माछा छेउ लाग्यो… ‘, ‘सलल पानी बबईको तीरैमा…’, कति सार्है जमेको पिरती… ‘ आदि नेपाली भाषामा तीर्थकुमारीले गाएका अन्य लोकप्रिय गीतहरू हुन्।
संकलनका रूपमा तीर्थकुमारीका करिब पाँचवटा लोक गीतिसंग्रह, छवटा नेवारी गीति संग्रह, एउटा लोकगीतको सीडी र रत्न रेकर्डिङ संस्थानबाट १३ वटा डिस्क रेकर्ड निस्किसकेका छन्। नेपाल टेलिभिजन, अन्य निजी टेलिभिजन च्यानल र अन्य आधुनिक सञ्चारमाध्यमहरूबाट यिनका विभिन्न गीतहरूको म्युजिक भिडियो निर्माण र प्रसारण भएको देखिन्छ। स्वदेश र विदेशमा गरी थुप्रै पटक सांगीतिक कार्यक्रममा निरन्तर रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी तीर्थकुमारीले २०८० मंसिर ८ गते सांस्कृतिक संस्थान (नाचघर) मा पहिलो बृहत् एकल साँझ ‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सफलताका साथ सम्पन्न गरेकी छिन्। तीर्थकुमारीले सामाजिक सेवाको सहयोगार्थ पनि पटकौँपटक सांगीतिक कार्यक्रममा आफ्नो गायन प्रस्तुत गरिसकेकी छिन्।
रेडियो नेपालद्वारा २०५७ सालमा ‘प्रतिष्ठित श्रेणीको गायिकाको प्रमाणपत्र’ प्राप्त गरेकी तीर्थकुमारीले प्रबल गोरखा दक्षिणबाहु मानपदवी- २०५७, वीरेन्द्रऐश्वर्य सेवा पदक- २०५८, नइ कलानिधि संगीत सम्मान- २०६०, सांस्कृतिक संस्थान सम्मान- २०६९, नारायणगोपाल संगीत सम्मान- २०७०, अन्तर्राष्ट्रिय नेपाली सांस्कृतिक कला सम्मान- २०६८, सिद्धिपुर महोत्सव सम्मान- २०६८, नेपाल सांगीतिक संघ पुरस्कार- २०७२, नेपाल सरकारद्वारा स्थापित संगीत तथा नाट्य विधातर्फ मध्यमाञ्चल विकास क्षेत्रको ‘क्षेत्रीय प्रतिभा पुरस्कार- २०७३’, छिन्नलता गीत विशेष सम्मान तथा पुरस्कार- २०७५, नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान- २०७५, दीर्घ कलाकारिता सम्मान- २०७६, नारायण गोपाल स्मृति सम्मान- २०७८, राष्टिय लोकदोहोरी महोत्सव सम्मानपत्र- २०७८, भक्तराज आचार्य राष्टिय संगीत सम्मान- २०७८, म्युजिक खबर, दीर्घ साधना सम्मान- २०७९, तारादेवी सम्मान- २०८१ आदि पदक, सम्मान र पुरस्कार प्राप्त गरेको देखिन्छ।
काठमाडौँ उपत्यकाबाहिर देशका विभिन्न जिल्लामा गायन तथा सांगीतिक प्रस्तुति दिइसकेकी तीर्थकुमारीले भारत, बंगलादेश, थाइल्यान्ड, सिंगापुर, फ्रान्स, स्पेन र बेलायतको भ्रमण गरेकी छिन्।
तीर्थकुमारी लामो समयसम्म नेपाल सरकारको निजामती सेवाअन्तर्गतकी कर्मचारी रहिन्। भूमिसुधार कार्यालयका साथै यिनले आफ्नो कर्मचारी जीवनको लामो कालखण्ड हुलाक सेवा विभाग र सञ्चार मन्त्रालय हुँदै रेडियो नेपालमा अधिकृत पदमा रहेर व्यतीत गरेकी हुन्। उनले २०६४ सालमा निजामती सेवाबाट अवकाश प्राप्त गरेकी हुन्।
यी आफ्ना पुत्र/गायक, संगीत प्रशिक्षक एवम् संगीतकार सुरजकुमार थापाका साथमा अझै पनि प्रत्येक बिहान रियाज गर्ने गर्दछिन्। छोरा सुरजकुमार थापासँग हालै ‘बारीको डिलमा ओखर बोट… ‘ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेर तीर्थकुमारीले आफ्नो सांगीतिक साधनालाई निरन्तरता दिएको देखिन्छ।
गायनप्रतिको निष्ठा र नियमित अभ्यासको परिणाम होला; तीर्थकुमारी थापाको स्वरमा उमेरको छाप परेको पाइँदैन। यिनको स्वरमा अझै ‘किशोरी तीर्थकुमारी’कै मिठास छ।
यिनी हाल नरेफाँट, काठमाडौँमा सेवा निवृत्त जीवन व्यतीत गरिरहेकी छिन्।
(ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-३, ढुंगेसाँघुमा कार्यालय रहेको ‘लालित्य सिर्जना समाज’ले आफ्नो प्रथम वार्षिक साधारणसभाको अवसरमा लोकप्रिय गायिका तीर्थकुमारी थापालाई सम्मान गर्दै छ।)