
काठमाडौँ– नेपालमा शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणका लागि भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास (हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट) परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सोमबार काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी परियोजनाहरूको कुन अनुमानित लागत करिब ३९ करोड नेपाली रूपैयाँ रहेको दूतावासले जनाएको छ।
परियोजनाअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका– ३ स्थित श्री जनशक्ति मावि भवन निर्माण, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म मावि निर्माण, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी मावि भवन निर्माण, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह मावि भवन, छात्रावास तथा पुस्तकालय निर्माण र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण रहेका छन्।
यी परियोजनाहरू सम्बन्धित स्थानीय तह तथा अन्य सरकारी निकायमार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ। परियोजनाले नेपालको ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्याउने दूतावासले विश्वास लिएको छ।
भारत सरकारले सन् २००३ देखि हालसम्म नेपालमा ५७९ वटा उच्च प्रभाव परियोजना अगाडि बढाएको छ, जसमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन्। बाँकी परियोजनाहरू कार्यान्वयनको चरणमा रहेका छन्। यी परियोजनामार्फत भारत सरकारले नेपाल सरकारको विकास प्राथमिकतामा सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट पारेको दूतावासको भनाइ छ।