
सुर्खेत – सुर्खेत लेकवेशी नगरपालिकाका ८८ वर्षीय बलबहादुर ज्ञवालीले ५२ वर्षपछि जग्गाधनी पूर्जा प्राप्त गरे।
‘२०२८ सालदेखि बसेको बस्ती हो, ५२ वर्षपछि हातमा जग्गाधनी पूर्जा प्राप्त भयो,’ उनले भने, ‘पटक–पटक नापी भए पनि अहिले आएर प्राप्त गर्न सफल भयौँ।’
यसअघि २०५२ सालमा जग्गाको नापी भए पनि पूर्जा भने प्राप्त नभएको बताउँदै उनले अहिले हातमा पूर्जा प्रप्ता हुँदा निकै खुसी लागेको उल्लेख गरे।
लेकवेशीकै डिलसरी खत्रीले गाउँघरको कागजमा बसिरहे पनि अहिले आफ्नो हातमा पूर्जा आउँदा निकै खुसी भएको बताएकी छिन्। उनले भनिन्, ‘चुनावका बेला नेताहरुले गरेको बाचा बल्ल पूरा भयो। हरेक चुनावमा जग्गाधनी पूर्जा दिन्छौँ भन्थे, प्राप्त भएको थिएन। योपटक भने बाचाअनुसारको काम भयो।’
२०२७ सालमा सल्यानबाट सुर्खेतको भेरीगंगा ६ मा बसाईँ सरेर आएको ७८ वर्षीया धनबहादुरले पनि जग्गा पूर्जा पाएका छन्। १९ रोपानी ऐलानी जमिन खरिद गरे पनि उनले पूर्जा पाएका थिएनन्।
शुक्रबार नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट बुबाले किनिदिएको ४८ वर्षअघिको त्यही जमिनको लालपूर्जा हातमा पर्दा धनि सार्कीका आँखाबाट हर्षका आँशु झ¥यो।
‘जग्गाको पूर्जा नपाएरै मरिन्छ जस्तो लागेको थियो,’ उनले भने, ‘अहिले बोल्नका लागि पनि कुनै शब्द छैन।’
वर्षौँदेखि आफूले हकभोग गरेपनि धनी पूर्जा थिएन् उनले बताए। ‘लालपूर्जा भइदिएको भए छोरा कालापहाड (भारत) जानुपर्ने थिएन्, ऋण लिएर यतै केही गर्दथ्यो होला,’ उनले भने, ‘जग्गा भएर मात्रै नहुँदो रहेछ, जग्गाधनी पूर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको छ।’