
‘घटनाको विवरण लिने काम भइरहेको छ’
मोहन आचार्य, सांसद, रसुवा
घटनाका बारेमा विस्तृत विवरण आउनै बाँकी छ । बाढीबाट सडक क्षति भएकाले त्यस ठाउँमा पुग्न कठिन छ। बाढीमा परी हराइरहेका नागरिकका सम्बन्धमा पूर्ण विवरण लिने काम भइरहेको छ।
उक्त बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति गराएको छ । नेपाल–चीन सीमामा रहेको मितेरी पुल नै बगाएपछि बाढीको भयावह अवस्था चित्रण हुन्छ । सीमानाकामा रहेको भन्सार यार्डमा बाढी पसेको छ।
भन्सार यार्डमा रहेका कतिपय कन्टेनर बाढीले बगाएको छ । रसुवाको सांसदको जिम्मेवारीमा रहेको हुँदा म अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछु । स्याफ्रूबेँसीबाट रसुवागढी पुग्न अझै तीन-चार घण्टा लाग्छ । त्यसतर्फको बाटो अवरुद्ध छ । क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु ।
‘स्थानीयस्तरमा जे उपलब्ध छ, त्यसको परिचालन गरिएको छ’
कैसाङनुर्पु तामाङ, अध्यक्ष, गोसाइँकुण्ड गाउँपालिका
मलाई ल्हेन्दे खोलामा बाढी आएको जानकारी बिहान ३ः३० बजे प्राप्त भएको हो । त्यतिबेला खोलाले मितेरी पुल बगाइसकेको थियो । चीनको तिब्बत क्षेत्रबाट ल्हेन्दे खोलामा बाढी उर्लिएर आएपछि क्षति भएको हो । चिनियाँ क्षेत्रमा ठूलो पानी परेको अनुमान गर्न सकिन्छ । बाढीमा परी १८ जना बेपत्ता भएका छन्। त्यसमा तीन सुरक्षाकर्मी, छ चिनियाँ नागरिक र नौ नेपाली नागरिक छन्। क्षतिको विवरण अहिले यकिनसाथ भन्न सकिने अवस्था छैन ।
राति अबेरसम्म भन्सारमा आयातीत गाडी प्रवेश दिएको थियो। त्यहाँ कति गाडी थिए, ती गाडीमा कति मजदुर थिए भन्न सक्ने अवस्था छैन । केही विद्युतीय गाडी बगाएको भन्ने छ । दर्जनौँ गाडी बाढीले पुरिएको अवस्था छ । भन्सार क्षेत्रमा पुगेको गाडीका चालक तितर बितर भए पनि अहिले सम्पर्कमा आउँदैछन् । हराएका सवारीसाधनको खोजबिन भइरहेको छ।
रसुवागढी क्षेत्रमा कति मानिस थिए भन्न सकिने अवस्था छैन । स्थानीय, कर्मचारी, सुरक्षाकर्मी, सो क्षेत्र घुम्न गएको पर्यटक, गाडीका चालक र सहचालक गरी चार हजारको हाराहारीमा हुनसक्ने अनुमान गर्न सकिन्छ। प्रभावित क्षेत्र गोसाइकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा पर्छ। यो सीमानाका नै हो। टिमुरेमा सुक्खा बन्दरगाहा निर्माण हुँदै गरेको छ। जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछौँ । खोलामा आएको बाढीले कटान गर्न थालेपछि नेपाली भूभागमा पहिरो झरेको हो ।
गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन बिहानदेखि क्रियाशील छ । रसुवागढीसम्म पुग्ने सडक विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध छ । हिलोले बाटो पुरिएको छ । स्थानीयस्तरमा जे उपलब्ध छ, त्यसको परिचालन गरिएको छ । बाढीमा बगेकाबाहेक अन्य सुरक्षित स्थानमा बसेका छन् ।
बिहानको तुलानामा अहिले बाढी घटेको छ । मितेरी पुल नै बगाएपछि चिनियाँ पक्षसँग सम्पर्क टुटेको छ । ओहोरदोहोरसमेत बन्द भएको छ । उक्त नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन चिनियाँ पक्षको सहयोग महत्वपूर्ण हुनेछ ।