मणि कुलुङको निर्देशनमा मञ्चन हुँदै ‘हराएको कुकुर’

हिमाल प्रेस १९ असार २०८२ १२:४६
70
SHARES
मणि कुलुङको निर्देशनमा मञ्चन हुँदै ‘हराएको कुकुर’

काठमाडौँ- मणि कुलुङ राईको कथा र निर्देशनमा बनेकाे नाटक ‘हराएको कुकुर’ मञ्चन हुने भएको छ। निर्माण टिमले एक प्रेस विज्ञप्ति जारी गर्दै यही असार २१ देखि नाटक मञ्चन हुन लागेको जानकारी दिएको हाे।

नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी साउन ४ सम्म मञ्चन हुने विज्ञप्तिमा भनिएकाे छ। रविन तामाङको  नाट्य रूपान्तरण रहेको नाटकमा प्रयोग गरिने कविता अनुप न्यौपानेले लेखेका हुन्।

‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक रहेको भन्दै यसले राज्य संरचनामा भइरहेको अन्याय, अनुसन्धान प्रणालीको पक्षपात  र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्ने टिमले बताएको छ।

नाटकबारे विज्ञप्तिमा भनिएको छ, ‘नाटकको सुरुवातमा एक कुकुर हराउँछ। सानो माछा ढडियामा, ठूलो माछा बढिएमा भन्ने जनकथन यहाँ कानुनी प्रणालीको वास्तविक अनुहार बनेर प्रस्तुत हुन्छ। निर्दोष जनताले अन्यायको विरोध गर्दा उनीहरूलाई नै अपराधी ठहर गरिन्छ। अनुसन्धान गर्ने निकायहरू निष्पक्षता गुमाएर शक्तिशाली पात्रहरूका आज्ञाकारी बन्न पुग्छन्। प्रमाणहरू हराइन्छन्, घटना ढाकछोप गरिन्छ र सत्यको स्वर दबाइन्छ। नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ, जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन्।’

‘हराएको कुकुर’ लाई राज्यद्वारा हराइएको सत्यको प्रतीक मानिएको छ। नाटकले के साँचो न्याय कहिल्यै भेटिन्छ त?, के नागरिक आवाजको दमनलाई राज्यद्वारा वैधता दिन सकिन्छ? भन्ने जस्ता प्रश्नलाई चुनौति दिने टिमको विश्वास छ। साथै नाटकले सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति रहेको निर्माण टिमको दाबी छ।

नाटकमा प्रहर (किरण नेपाली), तारा (स्मृती कल्मर), राधिका (रेज्मी राई), इन्द्रेणी (इन्द्रेणी कुलुङ), सुकमाया (रमा कुलुङ), बिर्खमान (अबिनास डि एम), सुसारे (मिना श्रेष्ठ), मौसम (मनि कुलुङ) र प्रकाश (सुनिल वाहिङ राई) पात्रले अभिनय गरेका छन्।

नाटकको ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले छन्। उमेश तामाङको प्रकाश परिकल्पना रहेकाे नाटकमा  सुनिल बाहिङ राईले प्रकाश परिचालन गर्नेछन्। नाटकको मञ्च आकाश मगर र मन्जिल मगरले तयार पारेका छन्।

प्रकाशित: १९ असार २०८२ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast