भारतको धर्मशालामा बुधबार तिब्बती आध्यात्मिक नेता दलाई लामाको रेकर्ड गरिएको भिडियो सन्देश हेरिरहेका तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायका भिक्षुहरू। तस्बिर : एपी/रासस
काठमाडौँ- तिब्बती आध्यात्मिक नेता दलाई लामाले सयौँ वर्ष पुरानो तिब्बती बौद्ध संस्था आफ्नो निधनपछि पनि कायम रहने बताएका छन्। उनको यो भनाइले उनी अन्तिम दलाई लामा हुन सक्ने अड्कलबाजी अन्त्य गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नोबेल शान्ति पुरस्कार विजेता आध्यात्मिक नेता लामाले आइतबार पर्ने आफ्नो ९०औँ जन्मदिनको पूर्वसन्ध्यामा बुधबार भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा आयोजित प्रार्थना समारोहमा भने, ‘अर्को दलाई लामाको पहिचान र मान्यता अघिल्ला बौद्ध परम्पराअनुसार हुनुपर्छ।’ साथै उनले उत्तराधिकारी पहिचान प्रक्रियामा चीनले हस्तक्षेप गर्नु नहुने संकेत दिएका छन्।
दलाई लामाको उत्तराधिकारीसम्बन्धी योजना तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्ने र आफ्नाे पहिचान जोगाउन संघर्षरत अधिकांश तिब्बतीका लागि राजनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। चाहे तिनीहरू आफ्नो मातृभूमिमा बसोबास गरिरहेका हुन् वा निर्वासनमा। यो निर्णयले तिनका लागि मात्र होइन, दलाई लामालाई करुणाका बौद्ध देवता चेनरेजिगको जीवित अवतारका रूपमा पूजा गर्ने तिब्बती बौद्ध अनुयायीका लागि पनि गहिरो धार्मिक महत्त्व राख्छ।
यो निर्णयले चीनलाई असहज पार्ने अपेक्षा गरिएको छ। चीनले पटकपटक आफूले मात्र नयाँ धार्मिक नेतालाई अनुमोदन गर्ने अधिकार राख्ने दाबी गर्दै आएको छ। चीनले पुनर्जन्म भएको व्यक्तिको खोजी तिब्बती क्षेत्रमै हुनुपर्ने अडान राखेको छ। जसले उत्तराधिकारी चयनमा चिनियाँ कम्युनिस्ट सत्तालाई नियन्त्रण दिन्छ।
धेरैले विश्वास गर्छन् दुई प्रतिस्पर्धी दलाई लामा हुनेछन् – एकजना बेइजिङद्वारा नियुक्त र अर्का हालका दलाई लामाप्रति निष्ठावान् वरिष्ठ भिक्षुहरूद्वारा चयन भएका।
तेन्जिन ग्यात्सो सन् १९४० मा दलाई लामाको १४औँ अवतारका रूपमा चिनिएका हुन्। सन् १९५९ मा चिनियाँ सेनाले तिब्बतको राजधानी ल्हासामा भएको विद्रोह दमन गरेपछि उनी तिब्बतबाट भाग्न बाध्य भएका थिए। त्यसयता उनी भारतको धर्मशालामा बसोबास गर्दै आएका छन्। त्यहीँबाट उनले संसारभर यात्रा गर्दै तिब्बती जनताको स्वायत्तताका पक्षमा पैरवी गर्दै आएका छन्।
तिब्बती बौद्धहरूको विश्वास के छ भने दलाई लामाले आफू कुन शरीरमा पुनर्जन्म लिने भनेर चयन गर्न सक्छन्। यो परम्परा सन् १५८७ मा यो संस्थाको सुरुवात भएपछि १४ पटक दोहोरिइसकेको छ। लामाले विगतमा पनि आफ्ना उत्तराधिकारी चीनबाहिर जन्मिने बताएका छन्।
दलाई लामाले आफ्नो उत्तराधिकारसम्बन्धी योजना भिडियो सन्देशमार्फत सार्वजनिक गरेका थिए। त्यसलाई धर्मशालामा आयोजित बौद्ध भिक्षुहरूको धार्मिक भेलामा प्रसारण गरिएको थियो। वक्तव्यमा उनले दलाई लामाको पुनर्जन्म खोज्ने र मान्यता दिने सम्पूर्ण अधिकार गदेन फोद्राङ ट्रस्टसँग मात्र रहेको स्पष्ट गरेका छन्। सन् २०१५ मा स्थापना गरिएको यो गैरनाफामुखी संस्थाले दलाई लामासम्बन्धी सम्पूर्ण आध्यात्मिक र संस्थागत विषयको समन्वय गर्छ।
दलाई लामाले भने, ‘यो विषयमा अरू कसैसँग हस्तक्षेप गर्ने कुनै अधिकार छैन।’ साथै उनले भविष्यका दलाई लामाको खोजी ‘पूर्वपरम्पराअनुसार’ गरिनुपर्ने बताए
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङलाई पत्रकारहरूले दलाई लामाको उक्त घोषणाबारे सोध्दा उनले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘दलाई लामाको पुनर्जन्म चीनभित्र खोजिनुपर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्छ। यसलाई केन्द्रीय सरकारले अनुमोदन गर्नुपर्छ।’
यो प्रक्रिया धार्मिक विधि र ऐतिहासिक सन्दर्भअनुसार राष्ट्रिय कानुन र नियमको पालना गर्दै अघि बढाइनुपर्ने उनले बताइन्।
यसैबीच एम्नेस्टी इन्टरनेसनलकी चीन निर्देशक सारा ब्रुक्सले बुधबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘चिनियाँ अधिकारीहरूले अर्को दलाई लामाको चयनमा नियन्त्रण गर्न खोज्नु धार्मिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो।’
अन्य सबै धर्म समुदायहरूझैँ तिब्बती बौद्धहरूले पनि बिना जबर्जस्ती वा हस्तक्षेप आफ्ना आध्यात्मिक नेताहरू छान्न पाउनुपर्ने एम्नेस्टीको जोड छ।
दलाई लामाले आफ्ना अनुयायीलाई बारम्बार बेइजिङले चयन गरेको व्यक्तिलाई अस्वीकार गर्न आग्रह गर्दै आएका छन्। सन् २०११ मा आफूले राजनीतिक भूमिका त्याग्नुअघि नेतृत्व गरेको तिब्बती निर्वासित सरकारले पनि यही धारणामा समर्थन गर्छ।
तिब्बती निर्वासित सरकारका अध्यक्ष पेन्पा छिरिङले भने, ‘संसारभरका तिब्बतीहरूले एकताबद्ध भक्तिभावसाथ विनम्र अनुरोध गरेका छन् कि दलाई लामाको पद निरन्तर रहोस्— समस्त प्राणीहरूको हितका लागि, विशेषतः बौद्ध अनुयायीहरूको कल्याणका लागि।’
अध्यक्ष छिरिङले चीनलाई दलाई लामाको उत्तराधिकार प्रक्रियामा हस्तक्षेप नगर्न चेतावनी दिए। उनले यस प्रक्रियालाई ‘विशिष्ट तिब्बती बौद्ध परम्परा’ भएको बताए।
उनले भने, ‘हामी जनगणतन्त्र चीनले पुनर्जन्मको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरेको कडा शब्दमा भर्त्सना गर्छौं र कहिल्यै पनि त्यसलाई स्वीकार गर्नेछैनौँ।’
दलाई लामाको पुनर्जन्मको खोजी प्रक्रिया अहिलेको पदाधिकारीको निधनपछि मात्र सुरु हुन्छ। परम्पराअनुसार नयाँ दलाई लामाको पहिचान वरिष्ठ भिक्षुहरूद्वारा आध्यात्मिक संकेत र दृष्टान्तको आधारमा गरिन्छ। पुनर्जन्म भएको बालकको पहिचान भएपछि उनलाई प्रशिक्षण दिइन्छ र नयाँ नेतृत्वको भूमिका सम्हाल्न तयार पार्न केही वर्ष लाग्छ।




