
काठमाडौँ- निजामती सेवा विधेयकमा भएको ‘कुलिङ पिरियड’ हेरफेर प्रकरणबारे संसद्को राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आलोचना गर्दै सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराविरुद्ध उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
थानीले समितिबाट षड्यन्त्रपूर्वक विधेयक हेरफेर गरिएको भन्दै गम्भीर आपत्ति जनाए। उनले भने,‘सचिवजस्तो पदमा बसेका व्यक्तिले केही थाहा छैन भनेर उम्कन मिल्दैन। सभापति पनि टाठोबाठो भएर जानु हुँदैन। हामीले ताली बजाएर विधेयक पारित गरेका थियौं, त्यसमा मन्त्रीहरूलाई पनि जानकारी थिएन भन्ने कुरा कसरी विश्वास गर्ने?’
थानीले चलखेलमा ठूलो समूह संलग्न भएको आशंका व्यक्त गरे। ‘यस्तो कार्य एकजनाले मात्र गर्न सक्दैन, यसको पछाडि ठूलो गिरोह छ। दोषी सबैलाई कानुनी दायरामा ल्याइनुपर्छ,’ उनले भने।
उनले सभापति खतिवडालाई प्रश्न गर्दै भने, ‘तपाईंको कोर टिममा को थिए? कुन पार्टीका को-को राख्नुभएको थियो? ऐन बनाउन खोज्ने व्यक्तिले नै संसद्लाई असफल बनाउने षड्यन्त्र गरेको देखिन्छ। यो ठट्टा होइन।’