
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार छान्ने जिम्मा पार्टी संरक्षक रेशम चौधरीलाई दिएको छ। उपनिर्वाचनको मिति घोषणा भएलगत्तै नाउपाकी अध्यक्ष रञ्जीता चौधरी श्रेष्ठले रूपन्देही ३ मा उम्मेदवार छान्ने जिम्मा संरक्षक चौधरीलाई दिएको बताएकी हुन्।
उपनिर्वाचनमा नाउपाले सक्रिय रुपमा भाग लिने बताउँदै उनले उम्मेदवार चयनको पूर्ण जिम्मेवारी पार्टी संरक्षक चौधरीलाई दिएको बताएकी छन्।
‘यो उपनिर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टी सक्रिय रुपमा भाग लिन्छ। यस सम्बन्धमा उम्मेदवार चयनको पूर्ण जिम्मेवारी मैले पार्टी संरक्षक एवं जननेता माननीय रेशम चौधरीज्यूलाई सुम्पिएको छु,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्।
अघिल्लो आमनिर्वाचनमा नाउपाले यो क्षेत्रमा उल्लेखनीय जनमत प्राप्त गरेकाले उपनिर्वाचनमा पनि सक्रिय रुपले भाग लिने उनले बताएकी छन्। अध्यक्ष श्रेष्ठले भ्रमपूर्ण प्रचारमा नलागि संरक्षक चौधरीको मार्गनिर्देशनअनुसार एकढिक्का भएर अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रहसमेत गरेकी छन्।
‘हाम्रा सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई आग्रह छ- रेशम चौधरीज्यूको मार्गदर्शनअनुसार एकढिक्का भई अघि बढ्नुहोस्। बाहिर कतिपय भ्रमपूर्ण प्रचारहरू फैलाउने प्रयासहरू भइरहेका छन्। तर, हाम्रो धारणा स्पष्ट छ– हामी संगठनात्मक निर्णय, नेतृत्वको परिपक्वता र जनताको भरोसामा दृढताका साथ अघि बढ्नेछौँ,’ श्रेष्ठले भनेकी छन्।
अध्यक्ष श्रेष्ठले यो उपनिर्वाचन नाउपाको राजनीतिक अस्तित्व, जनतासँगको नाता र सत्य–संघर्षको निरन्तरतासँग जोडिएको बताएकी छन्।
सात दल आवद्ध संघीय मधेशी मोर्चामा समेत रहेको नाउपाले रूपन्देही ३ को उपनिर्वाचनमा मोर्चाका तर्फबाट साझा उम्मेदवार दिनुपर्ने भन्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ।
गत शुक्रबार र आइतबार बसेको मोर्चाको बैठकमा नाउपाका संरक्षक चौधरीले रूपन्देही ३ मा आफ्नो पार्टीका तर्फबाट साझा उम्मेदवार दिनुपर्ने प्रस्ताव राखेका थिए।
उनको प्रस्तावमा मोर्चामा आवद्ध सबै दल सकारात्मक रहे पनि जनमत पार्टीले पनि रूपन्देही ३ मा दाबी प्रस्तुत गरेको छ।
नाउपाले भने अघिल्लो आमनिर्वाचनमा पनि सहभागी भएको र उल्लेख्य मत प्राप्त गरेको भन्दै यो क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट साझा उम्मेदवार बनाउन दाबेदारी प्रस्तुत गरेको छ।
मोर्चाका नेताहरूका अनुसार साझा उम्मेदवार दिनुपर्नेमा सबै दल सहमत भए पनि दलबारे चाँडै टुंगो लाग्ने बताएका छन्। मोर्चामा आवद्ध एक नेताका अनुसार रूपन्देही ३ को उपनिर्वाचनमा नाउपाको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्नेमा लगभग सबै दलको धारणा रहेको छ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही ३ बाट ३६ हजार ७१७ मत ल्याएर राप्रपाका बोहरा निर्वाचित हुँदा ३४ हजार ३६ मत ल्याएका नेपाली कांग्रेसका बालकृष्ण खाँण दोस्रो स्थानमा रहेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जितबहादुर गुप्ता तेली ५ हजार ७९६ मत ल्याएर तेस्रो स्थानमा रहँदा नाउपाका तुल्सीप्रसाद थारू ४ हजार ७५१ मत ल्याएर चौथो भएका थिए। त्यो निर्वाचनमा मोर्चाआवद्ध जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लगायतका दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको थिएन।
त्यस्तै समानुपातिकतर्फ पनि रूपन्देही ३ मा मोर्चामा आबद्ध अन्य दलहरूभन्दा बढी मत नाउपाले नै पाएको थियो। समानुपातिकतर्फ नाउपाले ६ हजार १० मत पाउँदा, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमत पार्टीले ३ हजार ७३२ मत प्राप्त गरेको थियो।