संसद प्रभावित पार्ने कामले व्यवस्था विरोधीहरूलाई फाइदा पुगेको छ : सभामुख

हिमाल प्रेस १६ असार २०८२ १५:३२ | Monday, June 30, 2025
संसद प्रभावित पार्ने कामले व्यवस्था विरोधीहरूलाई फाइदा पुगेको छ : सभामुख सभामुख देवराज घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन्।

संसद दिवसका अवसरमा सोमबार संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजे पनि आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुदा संसदको कार्यतालिकामा समेत असर परिरहेको बताए।

उनले सदनमा विरोध हुँदाहुँदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकहरुलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राखे। जबरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उनले उल्लेख गरे।

सभामुख घिमिरेले चित्त नबुझे संसद प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरुलाई फाइदा पुगेको धारणा राखे। प्रभावकारी संसद बनाउन सशक्त सचिवालयको जरुरी रहेको उनको भनाइ छ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

सांसदले संसदमा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासिनता देखिने गरेको भन्दै यसमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए।

अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

उनले जनता र संसदबीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्नेमा समेत जोड दिए। विसं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ।

प्रकाशित: १६ असार २०८२ १५:३२ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast