लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

हिमाल प्रेस १६ असार २०८२ १४:०७ | Monday, June 30, 2025
लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

कैलाली- गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्।

मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन्।

त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन्। भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ।

अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सृजना हुने गरेको छ।

पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ।

ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताए।

पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ।

धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: १६ असार २०८२ १४:०७ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast