
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफल अन्तिम चरणमा पुगेको छ। समितिले प्रतिनिधिसभामा विधेयक पेस गर्न प्रतिवेदन तयार गर्ने प्रक्रियामा प्रवेश गरेको छ।
विधेयकमाथिको दफावार छलफल लगभग टुंगिएको भन्दै समितिले प्रतिवेदन लेखनको तयारी थालेको हो। आइतबारको बैठकमा विधेयकसम्बन्धी केही प्राविधिक र व्यवस्थापकीय विषयमा अन्तिम सहमति जुटाइएको समितिले जनाएको छ।
बैठकमा शिक्षक सेवासम्बन्धी निर्णय गरिएको छ। विशेषतः २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकहरूको निवृत्तिभरण र उपदान प्रयोजनका लागि अस्थायी सेवाको अवधिलाई पनि गणना गर्ने सहमति जुटाइएको हो।
समितिका अनुसार यस्तो व्यवस्था लागु भएपछि २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्ति पाएका तर आवश्यक सेवा अवधि नपुगेका शिक्षकहरूलाई उनीहरूले गरेका अस्थायी सेवाको समय पनि गणनामा समावेश हुनेछ।
शिक्षकहरूको लामो समयदेखिको मागमध्ये एक रहेको अस्थायी सेवा अवधिको मान्यताबारे सहमति बनेसँगै अब उक्त व्यवस्था विधेयककै भागको रूपमा समावेश गरिनेछ।
शिक्षा विधेयकलाई प्रतिनिधिसभामा पुर्याउन अब प्रतिवेदन लेखन प्रारम्भ गर्ने समितिको तयारी छ। विधेयक पारित भएपछि शिक्षक व्यवस्थापन, नियुक्ति प्रक्रिया, मूल्यांकन, सेवा सुविधालगायतका विषयमा कानुनी आधार तय हुनेछ।