देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षा र पहिरोको उच्च जोखिम

हिमाल प्रेस १३ असार २०८२ ६:३१
28
SHARES
देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षा र पहिरोको उच्च जोखिम

काठमाडौँ- देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनका लागि सावधानी अपनाउन आग्रह गरेको छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार यस वर्षको मनसुन प्रणाली जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेको हो भने असार ६ गते देशभर फैलिएको हो।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहेको छ भने अन्य अधिकांश भूभागमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम देखिएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा साधारण बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्नेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका तराई भूभागमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।

शनिबार वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

शनिबार देशभर आंशिकदेखि साधारण बदली रहनेछ। पहाडी भूभागका केही र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ।

शनिबार राति पनि देशभरको मौसम यस्तै रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।

विभागले दिएको विशेष परामर्शमा कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले नदी-नाला, खोला तथा भूक्षयजन्य क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण नदीको सतह बढ्ने, बाढी आउने, भूक्षय र पहिरो खस्ने, यातायात अवरुद्ध हुने, हवाई उडान प्रभावित हुने सम्भावना रहेकाले सर्वसाधारणलाई जनस्वास्थ्य, कृषि, यात्रा र जनजीवनमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: १३ असार २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast