
काठमाडौँ – मधेश केन्द्रित सात राजनीतिक दलसम्बद्ध संघीय लोकतान्त्रिक मधेशी मोर्चाले रूपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार दिने भएको छ। बिहीबार लाजिम्पाटमा बसेको मोर्चाको बैठकमा रूपन्देही ३ उपनिर्वाचनमा साझा उम्मेदवार दिने सहमति जुटेको हो।
राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि त्यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रमा आगामी कात्तिक दोस्रो साता उपनिर्वाचनका लागि तयारी थालेको छ।
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेका बेला मोर्चाले पनि साझा उम्मेदवार बनाउने विषयमा बिहीबार छलफल गरेको हो। मोर्चाको बैठकमा रूपन्देही ३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले दाबी प्रस्तुत गरेका छन्।
चौधरीले नाउपाका तर्फबाट उपनिर्वाचनमा साझा उम्मेदवार बनाउन प्रस्ताव गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए।
रूपन्देही ३ थारू बाहुल्य क्षेत्र रहेको र यसअघिको निर्वाचनमा मोर्चाआवद्ध दलहरूमध्ये नाउपाले धेरै मत ल्याएकाले नाउपाका तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव रहेको महासचिव शर्माले बताए।
‘आजको छलफलमा धेरै विषयमा छलफल भए पनि मुख्यरूपमा रूपन्देहीको उपनिर्वाचनमा केन्द्रित रह्यो,’ शर्माले हिमालप्रेससँग भने,‘चौधरीजीको प्रस्तावमा आजको बैठक बोलाइएको थियो। उहाँकै अध्यक्षतामा बैठक पनि बस्यो। उहाँले आफ्नो पार्टीका तर्फबाट मोर्चाको साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राख्नुभयो।’
नाउपाको तर्फबाट उम्मेदवार बनाएर मोर्चाआवद्ध दलहरूले सहयोग गरे उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन सकिने चौधरीको भनाइ थियो।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही ३ बाट ३६ हजार ७१७ मत ल्याएर राप्रपाका बोहरा निर्वाचित हुँदा ३४ हजार ३६ मत ल्याएका नेपाली कांग्रेसका बालकृष्ण खाँण दोस्रो स्थानमा रहेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जितबहादुर गुप्ता तेली ५ हजार ७९६ मत ल्याएर तेस्रो स्थानमा रहँदा नाउपाका तुल्सीप्रसाद थारू ४ हजार ७५१ मत ल्याएर चौथो भएका थिए। त्यो निर्वाचनमा मोर्चाआवद्ध जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको थिएन।
त्यस्तै समानुपातिकतर्फ पनि रूपन्देही ३ मा मोर्चामा आवद्ध अन्य दलहरूभन्दा बढी मत नाउपाले नै पाएको थियो। समानुपातिकतर्फ नाउपाले ६ हजार १० मत पाउँदा, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमत पार्टीले ३ हजार ७३२ मत प्राप्त गरेको थियो।
अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा नाउपाका संरक्षक चौधरीले आगामी उपनिर्वाचनमा रूपन्देही ३ मा आफ्नो पार्टीका तर्फबाट साझा उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।
जसपा नेपालका महासचिव शर्माले नाउपाका संरक्षक चौधरीले अघि सारेको प्रस्तावमा मोर्चामा आवद्ध सबै दलहरू सकारात्मक रहेको बताए। उनको प्रस्तावमाथि अन्तिम निर्णय गर्न आगामी १५ गते बैठक बोलाइएको शर्माले जानकारी दिए।
‘उहाँको दाबेदारी उपयुक्त पनि हो। नाउपाबाट साझा उम्मेदवार बनाउने विषयमा मोर्चा आवद्ध सबै दल सकारात्मक नै देखिएका छन्,’ उनले भने,‘अब १५ गते बस्ने बैठकले यो विषयमा अन्तिम निर्णय गर्छ।’
महासचिव शर्माका अनुसार मोर्चाको बैठकमा लाल आयोगको प्रतिवेदन, राजबन्दीको रिहाइ, उपनिर्वाचनसहित मोर्चाको भावी कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो।
बैठकमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, रामकुमार शर्मा, मनिष सुमन, नाउपाबाट संरक्षक चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट अध्यक्ष राजेन्द्र महतो, केशव झा, सीएन थारू उपस्थित भएका थिए।
त्यस्तै लोसपाबाट अध्यक्ष महन्थ ठाकुरसहित सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट अध्यक्ष हृदयेश त्रिपाठीसहित शिवजी यादव र सबिर हुसेन, तमलोपाबाट अध्यक्ष वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह उपस्थित थिए।