इटहरीले एक अर्ब घटाएर बजेट ल्याउँदा धरानले ल्याएन, अरूको कति ?

विवेक विवश रेग्मी १० असार २०८२ २१:३३
262
SHARES
इटहरीले एक अर्ब घटाएर बजेट ल्याउँदा धरानले ल्याएन, अरूको कति ?

इटहरी- स्थानीय तहहरूले धमाधम बजेट सार्वजनिक गर्न थालेका छन्। असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुरूप स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका छन्।

सुनसरीमा रहेको १२ वटा स्थानीय तहमध्ये ११ पालिकाले बजेट सार्वजनिक गर्दा धरानले भने ल्याउन सकेन। धरानमा तयारी पूरा नभएकाले बजेट ल्याउन नसकेको जनाएको छ। बजेट तर्जुमा समितिको बैठक नै बस्न नसकिएको र मेयर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण नगरसभा बस्न सकेन।

गत आइतबार धरानमा बसेको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएपछि पुनः कार्यपालिका बैठक बस्न नसक्दा नगरसभा भएन। खासगरी धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले नै विवाद उत्कर्षमा पुगेपछि बजेट ल्याउन नसकिएको हो।

इटहरीको बजेट २ अर्ब ५५ करोड

इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षभन्दा एक अर्ब रुपैयाँभन्दा बढी घटाएर बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि २ अर्ब ५५ करोड २१ लाख बजेट सार्वजनिक गरिएको हो। उपुप्रमुख संगीता कुमारी चौधरीले नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार छुट्याएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गरिएको जनाइएको छ।

उपमहानगरले यस वर्ष ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब भन्दा कमको हो। चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो। गत वर्ष महत्वाकांक्षी बजेट ल्याएको भन्दै आलोचनासमेत भएको थियो।

बराहक्षेत्रले ल्यायो १ अर्ब ६ लाखको बजेट

बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गर्दै आन्तरिक आय ७ करोड ३६ लाख ५१ हजार अनुमान गरिएको छ। सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई मुख्य स्रोत मानिएको छ। ४७ करोड १ लाख( चालु तथा पुँजिगत समेत) सशर्त अनुदान र १९ करोड ३४ लाख वित्तीय समानिकरण अनुदानव( संघ) को आधारमा बजेट तर्जुमा गरिएको छ। संघबाट हुने राजस्व बाडफाँडमा १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

यस्तै, समपूरक अनुदान संघबाट ३ करोड ४१ लाख, प्रदेशबाट सशर्त अनुदान (चालु तथा पुँजीगत समेत) २ करोड ३० लाख ५६ हजार, प्रदेश राजस्व बाँडफाडँ १ करोड ११ लाख ८१ हजार, विशेष अनुदान संघ ७५ लाख, समपूरक अनुदान प्रदेशबाट १ करोड, वित्तीय समानिकरण अनुदार प्रदेशबाट १ करोड ८२ लाख ५० हजार गरी कुल १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ आय अनुमान गरेको छ।

चालु खर्च १५ करोड ८८ लाख, वडा कार्यालय (पुँजीगत) ८ करोड ८० लाख, पुँजीगत बजेट ( नगरतर्फ) २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ, सशर्त अनुदान (संघ)४७ करोड १ लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड, समपूरक अनुदान (संघ) ३ करोड ४१ लाख, विशेष अनुदान ७५ लाख गरी कुल १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ रहेको छ। बजेटसँगै सार्वजनिक नीति तथा कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी गराए।

रामधुनीको बजेट ८३ करोड १३ लाख

रामधुनी नगरपालिकाले ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटअनुसार चालु खर्चतर्फ ४७ करोड ७३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी पुँजीगततर्फ ३५ करोड ३९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।

इनरुवा नगरपालिकाको बजेट ७९ करोड ५९ लाख

इनरुवा नगरपालिकाले ७९ करोड ५९ लाख १२ हजार ९१५ बजेट सार्वजनिक गरेको छ। नगरले संघीय समानीकरण अनुदानबाट १६ करोड ५० लाख, संघीय सशर्त अनुदानबाट ३० करोड ६० लाख, संघीय समपूरक अनुदानबाट ३ करोड ६ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ६० लाख ४२ हजार, प्रदेश समपूरक अनुदानबाट ८० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ६७ लाख २४ हजार विनियोजन गरिएको छ। यसैगरी, संघीय राजस्व बाँडफाँटबाट १२ करोड ४८ लाख ५७ हजार ९५५, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) बाट १ करोड १२ लाख ४४ हजार र आन्तरिक आय श्रोत (मालपोत, रजिष्ट्रेशन शुल्क र अन्य) बाट १० करोड ६२ लाख ४५ हजार अनुमान गरिएको छ।

दुहबीको बजेट ९३ करोड ६५ लाख

दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख ५६ हजार ८ सयको बजेट ल्याएको छ। उक्त बजेट चालु आर्थिक वर्षभन्दा करिब ११ करोड रुपैयाँको हो।

भोक्राहाको बजेट ६० करोड ३६ लाख

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ।

कोशीको बजेट ६० करोड ९ लाख

कोशी गाउँपालिकाले ६० करोड ९ लाख ३७ हजार १ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बजेटको मुख्य स्रोत संघीय सरकारबाट आएको उल्लेख गरियो। जसमा वित्तीय सामानीकरण मार्फत १२ करोड ४९ लाख, राजस्व बाडफाड मूल्य अभिवृद्धि करतर्फ ८ करोड १९ लाख २४ हजार ८३ रुपैयाँ र अन्तः शुल्कतर्फ २७ करोड ३० लाख ८ हजार २७७ रुपैयाँ रहेको छ।

हरिनगरको बजेट ५८ करोड

हरिनगर गाउँपालिकाले ५८ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ५८ करोड ५४ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सार्वजनिक बजेटअनुसार चालु खर्चका लागि ४१ करोड ११ लाख रुपैयाँ, र पुँजीगततर्फ १७ करोड ४३ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी, बर्जु गाउँपालिकाले ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यसैगरी गढी गाउँपालिकाले ५७ करोड ७० लाखको बजेट सार्वजनिक गरेको छ। उता, देवानगञ्ज गाउँपालिकाले ५३ करोड ७८ लाख ६६ हजार ६१० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रकाशित: १० असार २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast