बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

हिमाल प्रेस ९ असार २०८२ १८:०५
52
SHARES
बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ।

सोमबार नगर सभाको सत्रौँ अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशतसहितको बजेट प्रस्तुत गरिन्।

बजेटमा आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान गरिएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्ने उदेश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

यस्तै ‘बुटवलको सपना–निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम ‘छोरी पढाउँ’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ।

यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ।

त्यस्तै नगरलाई सफा र स्वच्छ राख्न ‘मेरो टोल म सफा गर्छु’ भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्ममी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन्।

किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ।

यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ।

बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए। उनले जनशक्ति उत्पादन र खपतमा जोड दिँदै पढाइसँगै रोजगार कार्यक्रम र ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए।

उनले परम्परागत सीपलाई प्रवर्द्धन गर्नका लागि सीप विकास केन्द्र सञ्चालन गर्ने बताए। बुटवलका गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र विक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने बताए।

शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिने उनले बताए।

‘घुमौँ बुटवल’ भन्ने अभियान अन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरु सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए।

प्रकाशित: ९ असार २०८२ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast