
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। गीत मारुनी भाकामा आधारित छ। गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ।
गीतको रचनाकार र संगीतकार गायक शिवाकोटी नै हुन्। भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बू, कलाकार सुन्दर धिताल र सब्बु गुरुङको नृत्य प्रस्तुत गरिएको छ। भिडियाे मौसम हिमालीकाे कोरियोग्राफीमा बनेकाे छ।
फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। फिल्म आगामी असोज ३ मा संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने टिमको तयारी छ।
निर्देशक सुवेदीका अनुसार फिल्मले दुई पात्रबीचको प्रेम कथामार्फत समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने छ। फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
फिलमको मुख्य भूमिकामा प्रकाश र परीक्षा छन्। अन्य कलाकार विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको पनि अभिनय छ।
सुशन प्रजापतिले छायांकन गरेको फिल्म गरेका हुन्। फिल्मको छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानहरूमा गरिएको छ। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिष्ट र संसार चौलागाईँ हुन्।
यस्ताे छ गीत