
ललितपुर- शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ। ललितपुर महानगरले देशभरका महानगरपालिका र उपमहानगरपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएहो हो।
शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरेका छन्।
प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्यांकन गरेर पानले महानगरलाई उत्कृष्ट महानगरपालिका पुरस्कार २०८२ बाट पुरस्कारसहित सम्मान गरेको हो।
महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामुदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए।
महानगरले एसइईमा सामुदायिक विद्यालयतर्फ ३.९५ जीपीए ल्याउने विद्यार्थी र विद्यालय दुवैलाई नगदसहित सम्मान गर्दै छ। महर्जनले भने, ‘हामीले सामुदायिक विद्यार्थी र विद्यालयलाई प्रोत्साहित गर्न यो काम गरेका हौँ।’ महानगरले ४ जीपीए ल्याउने संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगद पुरस्कार र विद्यालयलाई सम्मान गर्दै आएको छ।