
काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहे पनि कुनै सहमति नभएको बताएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन्। छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफूहरूको अडान कायमै रहेको उनले बताए।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरु निरन्तर छलफलमा रहे पनि विषयको गाम्भीर्यतालाई सत्तापक्षले बुझ्न नसकेको बताए। भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनले उल्लेख गरे।
सदनको गतिरोध खुलाउने प्रयास जारी रहेको भन्दै परियारले सोमबार सदन बस्नुअघि दलहरूबीच सहमति हुने विश्वास व्यक्त गरे। उनले छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू पनि रहेको जिकिर गरे।