लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री लेखक

हिमाल प्रेस २५ जेठ २०८२ १७:११
10
SHARES
लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

उनले समाजमा लागुऔषधको अवैध कारोबारदेखि दुर्व्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिएका छन्।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताए।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने मन्त्री लेखकको भनाइ थियो।

‘बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पुर्‍याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ,’ मन्त्री लेखकले भने, ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक छ।’

गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको यो दिवसलाई परिणाममुखी बनाउन सबैसँग आग्रहसमेत गरे।

लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागुऔषधसम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए।

मन्त्री लेखकले लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर क्राइम थप चुनौतीका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि मन्त्रालय प्रयासरत रहेको बताए।

‘धेरै अपराधसित लागु औषध जोडिएको देखिन्छ,’ उनले भने, ‘त्यसको नियन्त्रणका लागि प्रयासरत रहेपनि अपेक्षा अनुसार नियन्त्रण गर्न सकिएको छैन्।’

प्रकाशित: २५ जेठ २०८२ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast