भ्रष्टाचार रोक्न सरकारी कर्मचरीको तलब दोब्बर बढाउन प्रस्ताव

हिमाल प्रेस २३ जेठ २०८२ १६:०४
110
SHARES
भ्रष्टाचार रोक्न सरकारी कर्मचरीको तलब दोब्बर बढाउन प्रस्ताव

काठमाडौँ– नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने धारणा राखे।

सांसद बस्नेतले भने, ‘कर्मचारीले काम गरेनन्, कर्मचारी भ्रष्ट भए भन्ने धेरै सुनियो, साच्चिकै कर्मचारी भ्रष्ट भएका हुन त? बढ्दो महङ्गी र कालोबजारी छ, पिउनदेखि हाकिमसम्मको तलब स्केल हेरौँ, प्रहरी, सेनाको तलब र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च धान्न पुग्छ त? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कर्मचारीको तलब दोब्बर वा तीन गुणाले बढाउनुपर्छ।’

सरकारले ल्याएको आगामी आवको बजेट राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र जरुरी भएको बताए।

‘बजेट सत्तारुढ दलको दस्तावेजमात्रै होइन, यो साझा राष्ट्रिय आकांक्षाको प्रतीक पनि हो,’ सांसद बस्नेतले भने, ‘बजेट केवल तथ्य र रकममात्रै नभई देशको भविष्य देखाउने दिशामा अग्रसर देखिन्छ, बजेटप्रतिको जनअपेक्षा अनुरुप कार्य पूरा गर्ने प्रतिबद्धता हुनुपर्छ।’

उनले नारायणगढ–मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको र अर्बौँ रकम खर्चिए पनि कहिले निर्माण पूरा हुने टुंगो नभएको बताए। साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले धारणा व्यक्त गरे।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले बजेटले जनआकांक्षा सम्बोधन गर्न नसकेको दाबी गरे। उनले भने, ‘दुई तिहाइको सरकारले बनाएको बजेट आशा बढाउनेभन्दा पनि विश्वास पैदा गर्ने खालको बजेट आउनुपर्ने थियो, तर बजेट अपेक्षित हुन सकेन।’

उनले चालु आर्थिक वर्षको तुलनामा पाँच दशमलव ६ प्रतिशतले बजेट बढेको सुखद् पक्ष भए पनि आज पनि राजश्व संकलन गर्न सक्ने अवस्था नरहेको बताइन्।

प्रकाशित: २३ जेठ २०८२ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast