
काठमाडौँ- नेकपा एमालेका नेताकार्यकर्ता यतिबेला ‘म झोले हो’ अभियानमा छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भनेर लेखेपछि कार्यकर्ताहरूले त्यसको अनुकरण गर्न थालेका हुन्।
ओलीको अभियानले समर्थकहरूलाई उक्साएको छ। साथै अब सामाजिक सञ्जाल चलाउन सक्ने नेपालीले ‘झोले’ भनेर एमालेका कार्यकर्तालाई चिन्नेछन्।
यहाँ झोले भनेको के हो, झोले कस्ता व्यक्तिलाई भन्ने र झोले बन्न के गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्न खोजिएको होइन। यहाँ उठाउन खोजिएको विषय हो भाषाको। भाषासम्बन्धी निकायहरू नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनको उपल्लो तहमा विज्ञभन्दा कार्यकर्ता प्रवृत्तिका व्यक्तिहरू सक्रिय छन्। उनीहरूमाथि भाषा बिगारेको आरोप लाग्दै आएको छ। अहिले आएर प्रधानमन्त्री ओली आफैँले भाषा बिगारेका छन् र भनेका छन्- म झोले हो।
नेपाली भाषाको सामान्य व्याकरणअनुसार ‘म’ सँग ‘हुँ’ प्रयोग हुन्छ, ‘हो’ होइन। ‘म झोले हो’ भन्ने वाक्य भाषिक अभ्यासका दृष्टिले अशुद्ध हो। यो कुरा प्राथमिक तहका नेपाली पाठ्यपुस्तकमा हेरे हुन्छ। ती कक्षामा पढ्ने विद्यार्थीसँग सोधे हुन्छ- प्रथम पुरुष एकवचन ‘म’ को क्रियापद के हुन्छ भनेर?
भाषाको शुद्धता हेर्ने जिम्मेवारी पाएका संस्थाहरूमा राजनीतिक बफादारीका आधारमा नियुक्त हुने क्रमले भाषिक सन्तुलन गुम्दै गएको आरोप लागिरहेका बेला प्रधानमन्त्री तहबाट अभियानका नाममा अशुद्ध वाक्यको प्रचार हुनु दुःखद् छ।
‘झोले’ शब्दलाई आत्मगौरवको प्रतीक बनाए पनि प्रधानमन्त्रीले त्यसको अभिव्यक्तिमा भाषिक अनुशासन नअपनाउनु नेपाली भाषामाथिको अवमूल्यन हो। भाषा कुनै दलको निजी सम्पत्ति होइन। यो साझा सम्पदा हो, जसको शुद्धतामा सबै नागरिक अझ नेताहरूले विशेष ध्यान राख्नुपर्छ। यस्ता राजनीतिक अभियानले जनमत निर्माण त होलान् सँगसँगै भाषा बरबाद पार्ने जोखिम पनि बोकेका हुन्छन्। त्यसैले ‘म झोले हुँ’ भनेर सही ढंगले लेख्न नसक्नेहरूबाट भाषा जोगाउने अपेक्षा निरर्थक हुन्छ।
प्रधानमन्त्री ओली सञ्चारमाध्यममा प्रयोग हुने भाषामा आफ्नो मानमनितो नगरेको र तिमी प्रयोग गरेको भनेर बेलाबेलामा पत्रकारमाथि खनिँदै आएका छन्। तर उनी आफैँ आफूले लेखेको एउटा वाक्यमा यति निम्छरो रूपमा प्रस्तुत भएर भाषाविरोधी बन्न खोजेको देखिएको छ।
कुनै पनि समाजलाई चिनाउने त्यो देशको भाषा, सभ्यता र संस्कृतिले हो। यी तीन कुरा रहेन भने न देश रहन्छ न त जातीय चिनारी। यो सत्यलाई प्रधानमन्त्रीको कुर्सीमा रहेका व्यक्तिबाट ख्याल गरिएको पाइएन। जे भए पनि अभियान सुरु भइसकेको छ। एमालेको अभियानको प्रतिरोधमा अन्य दलले पनि यस्तै अभियान थाले भने थप बहसको विषय बन्नेछ। मुख्य कुराचाहिँ एमालेजनले आफूलाई ‘म झोले हो’ भन्दै गर्दा भाषा नबिगारून्। उनीहरूमाथि ‘भाषा बिगार्ने झोलेहरू’ भन्ने आरोप नलागोस्। साथै उनीहरूको बाँकी जीवन झोलामा नसकियोस्।