
बुटवल– सुर्खेत भेरीगंगा नगरपालिका– १ का देवीलाल जैसी सोमबार बिहान बुटवल बसपार्क झरे। भेरीगंगामै सासूको निधन भएपछि काठमाडौँबाट हतारिँदै आइतबार राती बस चढेका उनी यातायात व्यवसायीको बन्दका कारण बुटवलमा अलपत्र परेका छन्।
‘सासू आमाको निधन भएकाले बुटवलसम्मको गाडी चढेँ,’ बुटवल बसपार्कमा भेटिएका जैसीले भने, ‘बेलुकासम्म गाडी चल्छ कि भनेर पर्खेको छु।’
यातायात व्यवसायीको बन्दको हल्ला चले पनि सासूको अन्त्येष्टिमा पुग्ने आशले जैसी गाडी चढेका थिए। तर, जैसी बुटवल बसपार्कमै अलपत्र परेका हुन्।

यातायात व्यवसायीको आन्दोलनका कारण बुटवल बसपार्कमा अलपत्र पर्नेहरूको भिड नै छ। प्रायः काठमाडौँ, पूर्वी नेपाल र भारतबाट नेपाल आएका यात्रुहरू भेटिएका छन्। भारत नयाँ दिल्लीमै घरबार गरी बसेकी सपना कुँवरले यातायात नचल्दा निकै सास्ती पाएको सुनाइन्। उनले नेपाल भारत सीमा सुनौली नाकामा आएर एकाबिहानै अलपत्र परेको बताउँदै अब गुल्मी हर्पुकोटको यात्रा कसरी गर्ने भन्ने अन्योलमा छिन्।

‘बच्चाहरूको छुट्टी भएकाले आफ्नो घर आएका हौँ,’ उनले भनिन्, ‘सुनौलीदेखि बुटवलसम्म रिक्सामा आइयो, अब आफन्त खोज्दैछौँ।’
उनले नेपालमा आउँदा दुःख पाएको सुनाइन्। यातायात व्यवसायीहरूले आफ्नो माग सम्बोधन गराउन यातायात बन्द गर्दा सर्वसाधारण निकै मर्कामा परेका छन्। त्यसो त नेपालीहरू मात्रै होइन भारतबाट आएका पर्यटकहरूले पनि सास्ती भोग्नु परेको छ।
भारत मुम्बईबाट बेलहिया नाका हुँदै बुटवलसम्म आइपुगेका अशोक शर्मा अलपत्र परेका छन्। शर्मालाई काठमाडौँ पुग्नु परेको छ।
‘भारतमा असाध्यै गर्मी भएकाले नेपाल घुम्न आएका हौँ,’ उनले भने काठमाडौँ आजै पुग्ने योजनामा थियौँ, हवाई टिकट पनि प्याक छ, गाडी चलेको छैन।’
मुम्बईबाटै नेपाल आएका प्रकाश शर्माले गाडी नचल्दा नेपाल घुम्ने योजना नै विफल हुने चिन्तामा छन्। उनले नेपालको काठमाडौँसहितका ठाउँहरू भ्रमण गर्ने योजनाका साथ आएकोमा एक्कासी गाडी बन्द भएपछि अलमलमा परेको सुनाए।

भारतीय सीमा क्षेत्र सुनौली नाका हुँदै नेपाल आएका यात्रुहरूले यातायात नचल्दा निकै सास्ती पाएका हुन्। बुटवल, नेपालगन्ज, तुल्सिपुर, घोराही, परासी, तौलिहवालगायतका क्षेत्रबाट लामो तथा छोटो दूरीका गाडी नचलेपछि सर्वसाधारण मर्कामा परेका छन्।
विशेष गरी सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका यात्रुहरू महँगो भाडा तिरेर निजी गाडी प्रयोग गरिरहेका छन्।
इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले सुनौली नाकामा यात्रुहरूले गाडी नपाउँदा समस्या भोग्नुपरेको बताए। लुम्बिनी प्रदेशका मुख्य सहरी क्षेत्रमा गाडी नचल्दा यात्रु अलपत्र परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए।
उनका अनुसार प्रदेश भरी नै सार्वजनिक गाडीहरू नचलेको तर निजी सवारी साधनहरू निर्बाध रूपमा चलिरहेका छन्।
‘निजी गाडीहरू चलिरहेका छन्, केही टिप्पर पनि चलिरहेका छन्,’ उनले भने।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन्।
व्यवसायीहरूले नै बन्द गरेपछि लुम्बिनी प्रदेशमा सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणले सास्ती पाएका हुन्।