फिल्म ऊनको स्वीटरलाई कसले के भने?

हिमाल प्रेस ९ जेठ २०८२ ७:२९
12
SHARES
फिल्म ऊनको स्वीटरलाई कसले के भने?

काठमाडौँ- नेपाली फिल्म ऊनको स्वीटर तेस्रो सातातर्फ प्रवेश गरेको छ। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म बुधबार साँझ काठमाडौँमा आयोजना गरिएको विशेष शोमासमेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो ।

विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा‍.भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा.लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारीले फिल्म हेरेर प्रतिक्रिया दिए।

उनीहरूले ऊनको स्वीटरले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको बताए। कोइरालाले फिल्मको खुलेर प्रशंसा गर्दै भनिन्, ‘ऊनको स्वीटर हेरेँ। कति सुन्दर र मन छुने प्रेमकथा! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो फिल्म अविस्मरणीय बनाएको छ। हामी हाँस्यौँ, रोयौँ र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्‍यौँ।’

गायक राजेश पायल राईले भने, ‘फिल्म अत्यन्त मीठो बनेको छ। निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ। यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्न लायक काम हुँदैछ।’

अभिनेता तथा पाइलट विजय लामाले फिल्मको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे। ‘यसका निर्देशक अमेजिङ स्टोरीटेलर हुन्। फरक ढङ्गको अर्ग्यानिक कथा बोकेको यो फिल्म सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नु पर्ने फिल्म हो’ उनले भने।

अभिनेता नाजिर हुसेनले भने फिल्मले पुराना दिनहरूको सम्झना दिलाएको बताए। ‘फिल्म न्यानो छ, कोमल छ। पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो। कलाकारहरूको अभिनयले दिल नै चोरेर लैजान्छ,’ उनले भने।

गायक आनन्द कार्कीले फिल्मको हरेक कुराले दिल छोएको बताए। आचार्यले फिल्ममा कलाकारको अभिनय, संवाद, यसका दृश्यहरू अति नै प्राकृतिक भएकोले हेर्दाहेर्दै आफ्नै जस्तो लागेको बताए।

नवीन चौहानले निर्देशन गरेको ऊनको स्वीटरमा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ।

प्रकाशित: ९ जेठ २०८२ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast