जो युट्युबमार्फत सीप सिकेर व्यवसायी बनिन्

हिमाल प्रेस १ जेठ २०८२ १७:२१ | Thursday, May 15, 2025
जो युट्युबमार्फत सीप सिकेर व्यवसायी बनिन्

कञ्चनपुर- पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन। केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी हुन्।

उनले महिनामै ६० हजार बढीको कारोबार गर्छिन्। खर्च कटाएर ३० हजारसम्म आम्दानी हुने गरेको छ। विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नुपर्‍यो।

बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन। भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो। त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन्।

फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो। त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको। ‘इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें। केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरेँ’, चन्दले सुनाइन्।

एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाखको सामान थपेकी छन्। युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन्। ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, संघसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन्।

बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन्। भविष्यका लागि भनेर उनले मासिक आठ हजार सहकारीमै बचत गर्दै आएकी छन्। ‘घरको खर्च पसलकै कमाईले धानिएको छ। छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु’, चन्दले भनिन्।

प्रकाशित: १ जेठ २०८२ १७:२१ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast