बजेटलाई असमानता अन्त्य गर्ने दस्ताबेजका रूपमा प्रस्तुत गर्न सांसदहरूको सुझाव

हिमाल प्रेस ३१ वैशाख २०८२ १५:२५ | Wednesday, May 14, 2025
बजेटलाई असमानता अन्त्य गर्ने दस्ताबेजका रूपमा प्रस्तुत गर्न सांसदहरूको सुझाव प्रतिनिधिसभा बैठक/फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै शर्माले आम्दानी र खर्चको फाँटबारीमात्रै नभएर देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्नुपर्ने बताएका हुन्।

उनले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने, चालु खर्चलाई ३५ प्रतिशतमा झार्नुपर्ने लगायतका सुझाव दिए।

सांसद शर्माले विनियोजित बजेटबाट परिणाम हासिल गर्न संरचनागत सुधार बाधक बनिरहेको भन्दै संरचनागत सुधारमा सरकार कठोर ढंगबाट प्रस्तुत हुनुपर्नेमा जोड दिए।

त्यस्तै एमाले सांसद पदम गिरीले वर्तमान अवस्थाबाट मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर देखिएको भन्दै अर्थतन्त्रको अवस्थालाई माथि उठाउने गरी बजेट ल्याउनुपर्ने बताए। उनले ८० को दशक तीव्र आर्थिक विकासको दशक बन्नुपर्ने उल्लेख गरे।

सबैतिर बजेट छर्ने गरेकाले पुँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएकाले यसतर्फ विशेष ध्यान दिन उनले सुझाव दिए।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सरकारले प्राथमिकता राख्न नसकेको बताए। उनले मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न सरकार असफल भएको धारणा राखे।

त्यस्तै अन्य सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा आएका सुझावहरुलाई समेटेर बजेट निर्माण गर्न सुझाव दिएका थिए। साथै उनीहरुले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै सन्तुलित र सकारात्मक विकासमा ध्यान दिन समेत सुझाव दिएका छन्।

प्रकाशित: ३१ वैशाख २०८२ १५:२५ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast