ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

हिमाल प्रेस २७ पुष २०७९ १०:१७ | Wednesday, January 11, 2023
ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

ताप्लुजुङ- चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ।

असामान्यरूपमा चिसो बढेपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनन्दिन चलाउन निकै मुस्किल परेको स्थानीयवासी बताउँछन्। समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ । याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो।

बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् । यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन्। पछिल्लो केही सातायता निकै चिसो बढेको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताए। चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको उनले बताए।

केही दिनयता निकै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताए। हिउँ पर्न नसक्दा र बाक्लो हुस्सु लाग्दा तथा तुसारो मात्र पर्नाले चिसो निकै बढेको उनको भनाइ छ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ। गत मंसिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहरबजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए। वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ।

सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ। केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ। मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायी बताउँछन्।

केही दिनयता मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।

प्रकाशित: २७ पुष २०७९ १०:१७ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast