उडिसामा प्रिशा साह मृत्यु प्रकरण : छानबिन गर्न राष्ट्रियसभाको ध्यानाकर्षण

हिमाल प्रेस २१ वैशाख २०८२ १४:१७
8
SHARES
उडिसामा प्रिशा साह मृत्यु प्रकरण :  छानबिन गर्न राष्ट्रियसभाको ध्यानाकर्षण राष्ट्रियसभाको आकस्मिक समयमा धारणा राख्दै संसद् कृष्णबहादुर रोकाया। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरुले उक्त विषयमा धारणा राखेपछि अध्यक्ष दाहालले छात्रा प्रिशा साहको छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना दाहोरिहनु अन्त्यतै दुःखद पक्ष भएको भन्दै अध्यक्ष दाहालले नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिरहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्नुपर्ने जिकिर गरे।

आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए। अध्यक्ष दाहालले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्यहरुले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने धारणा राखेका थिए। कलेजमा पढ्नका चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुने उनीहरुको भनाइ छ। कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने बताए।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्नेमा जोड दिए। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले उच्चशिक्षा हासिल गर्न देशबाहिर जाने विद्यार्थीहरुको सुरक्षाप्रति गम्भीरता देखाउनुपर्ने बताए।

केही दिनअघि केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा भेटिएकी थिइन्। यसअघि गत फागुनमा रुपन्देहीकी प्रकृति लम्साल पनि सोही कलेजको छात्रावासमा मृत भेटिएकी थिइन्।

प्रकाशित: २१ वैशाख २०८२ १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast