लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवतीलाई सम्मान गरिने

हिमाल प्रेस १९ वैशाख २०८२ २१:४३
14
SHARES
लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवतीलाई सम्मान गरिने भगवती खत्री केसी

पोखरा– सुटिङ खेलकी भगवती खत्री केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौँ पोखरा स्पोर्टस अवार्ड–२०८१ अन्तर्गत सबैभन्दा महत्वपूर्ण विधा लाइफटाइम अचिभेमेन्ट अवार्डबाट उनलाई सम्मान गर्ने भएको हो।

प्रतिभा छनोट समितिको सिफारिसबमोजिम मञ्चको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। पोखरा इभेन्ट सेन्टरमा यही २६ वैशाखमा हुने स्पोर्टस् अवार्ड समारोहमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित सम्मान गरिने मञ्च अध्यक्ष एमबी आस्था मगरले बताए। यस अवसरमा योसहित विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने उनले बताए।

बागलुङकी भगवतीले सुटिङका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन्।

२५ वर्षअघि २७ औँ सिड्नी ओलम्पिक गेम्समा भाग लिएकी उनले त्यसबेला राष्ट्रिय कीर्तिमानीसमेत कायम गरेकी थिइन्। उनले विभिन्न ७ संस्करणका एशियन गेम, साफ च्याम्पियन, अन्तर्राष्ट्रिय सुटिङ प्रतियोगितामा भाग लिएकी छन्।

१२ औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा वेस्ट प्लेयर घोषित उनी राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा स्वर्ण भित्राएकी छन्।

खेल क्षेत्रमा लामो समयदेखिको योगदानको कदर गर्दै उनलाई सरकारले गोरखा दक्षिणबाहु मानपदवीबाट विभूषित गरिसकेको छ। उनले विगत ३० वर्षदेखि खेलाडीलाई निःशुल्क प्रशिक्षणसमेत गराउँदै आएको बताउँछिन्।

पोखरा स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने उनी दोस्रो महिला हुन्। गत वर्ष एथलेटिक्सकी इन्द्रा मल्ल सम्मानित भएकी थिइन्।
यसअघि, क्रमशः कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मरासिनी सम्मानित भइसकेका छन्।

प्रकाशित: १९ वैशाख २०८२ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast