तरहरा कविता प्रतियोगितामा अविनाश भट्टराई प्रथम

हिमाल प्रेस १२ वैशाख २०८२ १६:०० | Friday, April 25, 2025
तरहरा कविता प्रतियोगितामा अविनाश भट्टराई प्रथम

इटहरी- इटहरीस्थित तरहरामा शुक्रबार भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ ले प्रथम पुरस्कार पाएको छ।

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता-२०८२’ का लागि उपलब्ध भएको ४ सय ६ कवितामध्ये १० कविता छनोट गरी आज वाचन गरिएको थियो। ती मध्ये कवि भट्टराईको कविता प्रथम भएको हो।

खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ कविता द्वितीय भएकाे छ। यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ तृतीय, सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘संघर्ष र सङ्कल्प’ शीर्षककाे कविताले सान्त्वना पुरस्कार पाएकाे  छ।

प्रथम हुने कवि भट्टराईलाई नगद रू ५१ हजार एक सय रूपैँया पाएका छन्। द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जना) लाई क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय नगद प्रदान गरिएको छ।

आयोजकले उत्कृष्ट १० मा छनोट भएका कविहरुलाई पनि नगद पाँच हजार एक सयसहित पुरस्कार प्रदान गरेको छ। जसमा गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ परेको थियो।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गरेको कार्यक्रममा अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि थिए।

आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार समूहले यसअघि चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका आठ जनालाई सम्मान पनि गरिएको छ।

प्रकाशित: १२ वैशाख २०८२ १६:०० | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast