
पोखरा– संगीतका युगल जोडी पोखरेली इतु जोजिजु र रामभक्त जोजिजुले एक लाख राशिको छिन्नलता पुरस्कार प्राप्त गरेका छन्।
छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा. बासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको साधारणसभाले २०८१ सालको छिन्नलता पुरस्कार गायनतर्फ जोजिजु जोडीलाई दिने निर्णय गरेको हो।
यस्तै, गीत रचनातर्फ राजेन्द्र रिजाल, संगीत रचनातर्फ आभास (अच्युत फुयाँल) लाई प्रदान गर्ने निर्णय गरिएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए।
५० हजार राशिको युवा प्रतिभा पुरस्कार एस.डी.योगीले प्राप्त गरेका छन्। गत वर्षको निकै लोकप्रिय गीत ‘रुकुम मैकोट’ को संगीत र स्वरका निम्ति उनलाई पुरस्कार दिइएको गुठीले जनाएको छ।
पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मजयन्ती अवसरमा २२ असारमा पर्ने हरिशयनी एकादशीका दिन काठमाडौँमा आयोजित समारोहमा प्रदान गरिनेछ।
साहित्यमा मदन पुरस्कार तथा जगदम्बा पुरस्कार झैँ गीत संगीतमा छिन्नलता पुरस्कार प्रतिष्ठित मानिन्छ। तसर्थ, संगीतकर्मीहरुले यो पुरस्कार प्राप्त गरेमा आफूलाई अहोभाग्य ठान्छन्।
पुरस्कार दिने निर्णयले निकै खुसी लागेको गायक तथा संगीतकार रामभक्त जोजिजुले बताए।
इतु र रामभक्तको संयुक्त स्वर रहेका ‘कुनै बाटोमा तिमी एक्लै…,’ ‘त्यो कहिले घाम…,’ ‘जहाँ भामर छ…’ लगायतका गीत चर्चित छन्।
राजकुमार बगरको रचना एवं बीबी अनुरागीको संगीतबद्ध रामभक्तले गाएको ‘उडेर जून छुन्छु भन्थें…’ बोलको गीतले रेडियो नेपालले २०५५ सालमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वर तथा शब्दतर्फ प्रथम स्थान हासिल गरेको थियो।