
काठमाडौँ- यही वैशाख १२ देखि प्रदर्शन हुने फिल्म ‘खेल’ बाट समापिका गौतमले ठुलो पर्दामा डेब्यु गरेकी छन्।
नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलर मिश्रित फिल्ममा अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ। ती साथीहरुमध्ये एक हुन् समापिका।
उनी फिल्ममा ‘इसा’ पात्रको भूमिकामा छिन्। इसा साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हुन्। समापिकाले आफूलाई पनि केही हदसम्म ईसासँग मिल्ने बताइन्।
थिएटर सिक्दै अभिनयमा होमिएकी समापिकाले ‘खेल’ लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन्। पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि रह्यो।
उनी भन्छिन्, ‘म पर्दामा धेरै फिल्मकर्मीलाई देख्दै हुर्किएकी हुँ। अहिले त्यही पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ।’
थिएटर र फिल्मबीच टेक्निकल भिन्नता भए पनि आफूले दुवै माध्यमलाई समान रूपमा आत्मसात गरेको बताइन्। ‘मलाई सिकेको कुरा अभिव्यक्त गर्न पाए आत्मसन्तुष्टि मिल्छ’ उनले भनिन्।
बाल्यकालदेखि नै टेलिभिजन हेर्दा उनीभित्र कलाकार बन्ने रहर जागेको थियो। एसएलसीपछि थिएटर कक्षा सुरु गरिन्। परिवारको साथ र प्रेरणाले उनलाई कलाकारितातर्फ सहज भएको बताउँछिन्।
अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन् भन्ने उनकाे साेच छ। उनी आफूलाई भर्सटाइल कलाकारका रूपमा स्थापित गर्दै फरक-फरक कथामा काम गर्ने इच्छा रहेकाे बताइन्।
‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा बनेको छ। समापिकासँगै फिल्ममा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।