
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) सात विकेटको जित दर्ता गरेको छ।
मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली पञ्जावले प्रस्तुत गरेको १५८ रनको लक्ष्य आरसीबीले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
आरसीबी लागि विराट कोहलीले ५४ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ७३ रनको योगदान गरे। यसैगरी देवदत्तले ३५ बलमा पाँच चौका र चार छक्कासहित ६१, कप्तान रजत पाटिदारले १२ र जितेश शर्माले अविजित ११ रन बनाए।
पञ्जावका लागि अर्शदीप सिंह, हरप्रीत ब्रार र युज्वेन्दर चहलले समान एक विकेट लिए। जितसँगै आठ खेलमा १० अंक जोडेको बेङ्लुरु तेस्रो स्थानमा उक्लिएको छ। पराजित पञ्जाव समान खेलबाट १० अंकका साथ चौथो स्थानमा झरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो।
पञ्जावका लागि प्रभसिम्रन सिंहले ३३, शशांक सिंहले अविजित ३१, जोस इंग्लिसले २९, मार्को यानसनले अविजित २५ र प्रियान्स आर्याले २२ रन बनाए। आरसीबीका लागि कुर्णाल पाण्डेया र सुयश शर्माले समान दुई तथा रोमारियो शेफर्डले एक विकेट लिए।