
तनहुँ– डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको उनले बताए।
दुर्घटनामा परी मनाङ नासों गाउँपालिका–८ बस्ने ४० वर्षीय मन घलेको नमुना सामुदायिक अस्पताल लम्जुङ र स्कुटरको पछाडि सवार लम्जुङ बेशिसहर नगरपालिका–८ बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ।