
काठमाडौँ– डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नदिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र कायममुकायम गभर्नर नीलम ढुंगाना सक्रिय रहेको दाबी अर्थ मन्त्रालयका दाबी एक उच्च अधिकारीले गरेका छन्।
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. भट्टले राजीनामा दिए पनि कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन्। भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ। यसको सुनुवाइ आइतबार हुँदैछ।
यी दुवै घटनामा अर्थमन्त्री पौडेल र कामु गभर्नर ढुंगानाको मिलेमतो रहेको दाबी ती उच्च अधिकारीको छ।
कायममुकायम गभर्नर ढुंगाना नेपालको पहिलो महिला गभर्नर बन्ने दौडमा रहेको दाबी ती अधिकारीको छ।
प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा. गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन सहमति भइसकेको छ। ओली र देउवाबीच बुधबार साँझ प्रधानमन्त्री गभर्नरका लागि भट्टको नाममा सहमति भएको थियो।
गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. भट्टले राजीनामा दिएका थिए। बिहीबारको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसको सिफारिसमा बनाउन तयार भएको जानकारी गराएका थिए। गठबन्धनमै संकट पर्ने देखिएपछि प्रधानमन्त्री ओलीले कांग्रेसलाई गभर्नर दिन सहमति भएको दाबी कांग्रेसका एक पदाधिकारीको दाबी छ।
सरकारले फागुन अन्तिममा गभर्नर सिफारिसका लागि समिति बनाएको थियो। अर्थमन्त्री पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुईजनाको नाम गभर्नरमा सिफारिस गर्ने तयारीमा रहेको स्रोतको दाबी छ। ‘समितिको संयोजक अर्थमन्त्री पौडेललाई निर्देशनसमेत दिइसकिएको छ। मुद्दा र राजीनामा अस्वीकृत भएका कारण गभर्नर नियुक्तिमा केही ढिलाइ होला जस्तो छ’, अर्थ मन्त्रालयका अर्का एक उच्च अधिकारीले भने।
कांग्रेसका ती पदाधिकारीका अनुसार कांग्रेस सभापति देउवाले भने सोमबार बस्ने मन्त्रिपरिषद्को बैंठकबाट जसरी भए पनि भट्टलाई गभर्नर नियुक्ति गर्न दबाब दिइरहेका छन्।
अर्थमन्त्री पौडेलले सरकारले योग्यता र सहमतिका आधारमा नियुक्ति हुने भएकाले यसमा कुनै चलखेल नरहेको दाबी गरे। उनले सिफारिस समितिले छनोट गरेको व्यक्तिलाई सरकारले नियुक्ति गर्ने बताए।
‘बाहिर हल्ला भएजस्तो गभर्नर नियुक्तिमा केही चलखेल भएको छैन। सरकारले हालको अर्थतन्त्र बुझेको व्यक्ति गभर्नरमा ल्याउने हो। यसका लागि छलफल भइरहेको छ। योग्य र दक्ष व्यक्ति गभर्नर पदमा आउँछ’, मन्त्री पौडेलले हिमालप्रेससँग भने।
गभर्नरका लागि भट्टका नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले उनलाई डाकेर भेटिसकेका छन्। भट्ट २०७५ साल कात्तिक ६ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भएका हुन्। उनले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर खान थालेका थिए। नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबार बस्दै छ। साँझ बस्ने बैठकमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्टले दिएको राजीनामाबारे छलफल हुनेछ।