
काठमाडौँ- २०८२ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार हिमालप्रेसकर्मी किरण पौडेललाई प्रदान गरिएको छ। इलाम सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरेका हुन्।
नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने आशिष पुरस्कार पौडेललाई प्रदान गरिएको हो। २०५९ साल वैशाख १ मा दुर्घटनामा परी निधन भएका पत्रकार आशिष राईको स्मृतिमा २०६१ सालमा महासंघले यो पुरस्कार स्थापना गरेको थियो।
करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पौडेल अहिले हिमालप्रेसमा कार्यरत छन्। यसअघि उनले इलाम पोस्ट, इलाम एफएम, इलाम आवाज, राष्ट्रिय समाचार समितिलगायत मिडियामा काम गरेका छन्।
क्रियाशील पत्रकार महिला पुरस्कार सुनिता मगरलाई प्रदान गरिएको छ। महासंघले हरेक स्थापना दिवसमा प्रदान गर्ने क्रियाशील पत्रकार महिला पुरस्कार मगरलाई प्रदान गरिएको हो। मगर इलामबाट सञ्चालित रेडियो नेपालवाणीमा कार्यरत छिन्।
समारोहमा दुवै पत्रकारलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। दुवै पुरस्कारको राशि नगद १०-१० हजार रहेको छ।
महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईंको अध्यक्षता तथा मन्त्री रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रदेशका पूर्वउपसभापति सोम सुसेली, शाखाका पूर्वअध्यक्षहरू उमेश गुरुङ, कोकिला ढकाल, गैरसरकारी संस्था महासंघ उपाध्यक्ष इन्दिरा घिमिरे, पत्रकारआबद्ध विभिन्न संघ–संगठनका प्रमुख/प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भए।