
डोटी- डोटीको बडीकेदार गाउँपालिकाले अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरेको छ। वडा नं १ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ।
शैक्षिक सत्र २०८२ वैशाखदेखि यो कार्यक्रम सुरु गर्नका लागि तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताए। उनले भने, ‘अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक दृष्टिले विपन्न बालबालिकालाई निःशुल्क आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गर्ने योजना बनाएको छ।’
गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्मका बालबालिकाका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताए।
यहि कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाले वैशाख, जेठ र असार महिनाका लागि चार लाख विनियोजन गरेको छ। बाँकी रकम २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए।
गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठनका लागि पहल भइरहेको र व्यवस्थापनका लागि एकजना कर्मचारीको व्यवस्था गर्नाका साथै पठनपाठनका लागि सम्बन्धित विद्यालय जिम्मेवार रहने शिक्षा शाखाप्रमुख विवेक देउवाले जानकारी दिए।