
काठमाडौँ– राप्रपा नेपालले तीनकुने घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको बताएको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो।
चैत १५ गते तीनकुने क्षेत्रमा भएको गोलीकाण्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु, म्याद गुज्रिएको टियर ग्यासको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनका बारेमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न बैठकले माग गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रहरी हिरासतमा रहेका धवलशमशेर राण, रवीन्द्र मिश्रहरू अराजक गतिविधिमा संलग्न नरहेको राप्रपा नेपालले दाबी गरेको छ।
अराजक गतिविधिमा संलग्न नभई परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर जान नदिन तथा भीडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका राणा, मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङलगायतमाथि झुटा मुद्दा लगाएर थुनामा राखिएको भन्दै राप्रपा नेपालको बैठकले तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापना गर्न तथा विद्यमान व्यवस्थाबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको ‘सयुक्त जनआन्दोलन’ समितिलाई राप्रपा नेपाललले समर्थन गर्ने जनाएको छ।
यो समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपालले पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरूलाई आग्रह गरेको छ। राप्रपा नेपालले राजा, हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने षडयन्त्र भइरहेको बताएको छ।