
काठमाडौँ- ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को कमाइबारे वितरक कम्पनी र सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)को तथ्यांक फरकफरक परेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा फिल्मको लाइफटाइम कलेक्सन ४६ करोड ८० लाख रुपैयाँ ग्रस उल्लेख छ भने वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले देशव्यापी ४९ करोड २५ लाख २२ हजार ४०० रुपैयाँ ग्रस कमाएको खुलाएको छ।
फिल्मले २८ दिनसम्म ४५ करोड ७४ लाख कमाएको थियो। पाँचौं सातामा २ करोड ९५ लाख ग्रस कमाएको थियो । छैटौं सातामा कमाइमा गिरावट आएर ५६ लाख ग्रस कमाएको छ । वितरक मनोज राठीले फिल्मको लाइफटाइम कलेक्सन ५० करोड पुग्ने प्रक्षेपण गरे।
यसरी नेपालको ६ साता र विदेशको बक्स अफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० (करिब ५।३३ मिलियन अमेरिकी डलर) हुन आउँछ।
सरोज पौडेल निर्देशित यस फिल्मले बाबुछोराको भावनात्मक सम्बन्धको कथा भन्छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।