जेलेन्स्कीले भने – रूससँग हामी जित्छौँ

हिमाल प्रेस ६ चैत २०८१ २१:०८ | Wednesday, March 19, 2025
जेलेन्स्कीले भने – रूससँग हामी जित्छौँ युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्की

काठमाडौँ- युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध आफूहरूले जित्ने दाबी गरेका छन्। सैन्य मद्तसम्बन्धी छलफलका लागि फिनल्यान्ड पुगेका जेलेन्स्कीले सम्प्रभुता र स्वतन्त्रताका लागि लडिरहेको युद्ध जित्ने दाबी गरेका हुन्।

‘ब्लादिमिर पुटिनले जे भन्छन्, सत्य त्योभन्दा फरक हुन्छ,’ उनले भने,‘हामी आफ्नो सम्प्रभुता र स्वतन्त्रताका लागि लडिरहेका छौँ, हामी यो युद्ध जितेर छाड्ने छौँ।’

जेलेन्स्कीले शान्तिका लागि मिलेर दबाब बनाउन जरूरी रहेको बताउँदै सम्पूर्ण युरोपलाई एकजुट भएर आफ्नो रक्षा गर्न आग्रह गरे। रूसको छिमेकी हुँदा कस्तो हुन्छ भन्ने कुरा युक्रेन र फिनल्यान्ड दुवैलाई थाहा भएको उनले बताए।

जेलेन्स्कीले भने,‘हाम्रो सहयोगीले मद्त बन्द गरोस् भनेर रूसले चाहेको छ। युक्रेन कमजोर भएको उसले हेर्न चाहेको छ। पुटिनले शान्ति चाहेको भए, हाम्रो सेनालाई किन कमजोर गर्न खोजेका छन्?’

फिनल्यान्डका राष्ट्रपति एलक्जेन्डर स्टबले युक्रेनलाई आफ्नो बचाउका लागि पूर्ण अधिकार रहेको र यो अधिकारमाथि कुनै प्रतिबन्ध लगाउन नसकिने बताए।

उनले भने,‘युक्रेन, युरोप र अमेरिका शान्ति चाहेका छन्। तर, रूसले चाहेको छ कि छैन भन्ने हेर्न बाँकी छ। रूस तयार नभए, कुराकानीका लागि दबाब बढाउनुपर्ने हुन्छ।’

स्टबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीचको वार्तालाई सही दिशामा बढेको कदम बताएका छन्। ट्रम्पले युद्ध रोक्न चाहेको र यो ठीक रहेको उनको भनाइ छ।

प्रकाशित: ६ चैत २०८१ २१:०८ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast