‘मुख्यमन्त्रीले बहिष्कार गर्दैमा मधेशमा रोकिन्न एसईई’

हिमाल प्रेस ६ चैत २०८१ १६:१०
528
SHARES
‘मुख्यमन्त्रीले बहिष्कार गर्दैमा मधेशमा रोकिन्न एसईई’ एसईईका लागि तयार पारिएको कक्षाकोठा। तस्बिर सौजन्य : श्यामसुन्दर महर्जन

काठमाडौँ- शिक्षा मन्त्रालयले मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कक्षा १० को अन्तिम परीक्षा एसईई बहिष्कार गर्दैमा कुनै असर नपर्ने स्पष्ट पारेको छ। मुख्यमन्त्री सिंहले परीक्षाको मुखैमा आएर मंगलबार परीक्षा बहिष्कारको घोषणा गरेका थिए। सिंहले केन्द्राध्यक्ष चयन प्रक्रियामा असन्तुष्टि जनाएका छन्।

शिक्षा मन्त्रालयले  परीक्षार्थीलाई तनावमा नलिन र परीक्षामा सहभागी हुन आग्रह गरेको छ।  प्रचलित कानुनअनुसार एसईई सञ्चालन र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ। परीक्षा बिहीबार सुरु हुँदैछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मधेशका मुख्यमन्त्रीले बहिष्कार गर्दैमा परीक्षामा कुनै असर नपर्ने बताए।  उनले परीक्षा सञ्चालनका लागि त्यहाँको सरकारसँग समन्वय गरिरहेकाले ढुक्कसँग परीक्षामा सहभागी हुन परीक्षार्थीहरूलाई आग्रह गरेका छन्। उनले हिमालप्रेससँग भने, ‘परीक्षाको सम्पूर्ण जिम्मेवार प्रदेश सरकारले पाएका छन्। त्यसैअनुसार काम भइरहेको छ। परीक्षा नहुने भन्ने कुरै छैन।’

मुख्यमन्त्री सिंहको ‘परीक्षा बहिष्कार’ को अभिव्यक्तिपछि शिक्षामन्त्री विद्या भट्टराईले चासो र चिन्ता व्यक्त गरेकी छन्। प्रवक्ता  सापकोटाले मधेश प्रदेशमा परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सँग समन्वय भइरहेको जानकारी दिए।

जकपुर उपमहानगरपालिकाअन्तर्गतको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपका प्रधानाध्यापक सञ्जय झा एसईईको तयारी पूरा भएको बताए। उनले भने, ‘मुख्यमन्त्रीले जे भने पनि एसईई रोकिँदैन। जिल्ला परीक्षा समन्वय समितिको निर्देशनअनुसार विद्यालयमा काम भइरहेको छ।’

एसईई चैत ७ देखि १९ गतेसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुनेछ। शिक्षा मन्त्रालयका अनुसार परीक्षा गत वर्षभन्दा ४९ हजार २८६ विद्यार्थी थपिएका छन्। परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको मन्त्रालयले जनाएको छ।

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ।

परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको मन्त्री विद्या भट्टराईले जानकारी दिइन्। उनले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्।

मधेश सरकारद्वारा एसईई बहिष्कार, केन्द्राध्यक्ष नियुक्तिमा आपत्ति

प्रकाशित: ६ चैत २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast