एसइईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन

हिमाल प्रेस ४ चैत २०८१ १९:१३
12
SHARES
एसइईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन्।

सोमबार ‘भर्चुअल’ माध्यमबाट मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उनले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन्। मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गरिन्।

उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने बताइन्।

‘परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छीत क्रियाकलापलाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ। सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध छ। परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ,’ उनले भनिन्।

यस वर्षको एसइई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ। परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएका छन्। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी दुई दिनमा ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ।

परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ चैत २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast