
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवासुविधा व्यवस्थित बनाउन कानुन बनाउन लागिएको जानकारी दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवासुविधा दिइँदै आएकोमा अब त्यसलाई व्यवस्थित बनाउन कानुन बनाउन लागिएको जानकारी दिएका हुन्।
सरकारले दिने सुविधामा वैधानिक मापदण्ड नभएकाले कानुन बनाउन खोजिएको पनि उनले बताए। लेखकले भने, ‘पूर्वविशिष्टलाई सेवासुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत छ।’
उनले पूर्वविशिष्टलाई दिने सेवासुविधासम्बन्धी कानुन सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने विषय सरकारको नभई संसद्को विषय हुने बताए। मन्त्रिपरिषद्को २०८१ पुस ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भिक स्वीकृति प्राप्त भएको थियो। मन्त्री लेखकका अनुसार विधेयक तर्जुकाका लागि काम सुरु भइसकेको छ।
गृहमन्त्री लेखकले पाथीभरा केबलकारका विषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिए। आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएको उनले बताए। उनले आन्दोलनकारी पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधान गर्न सरकार तयार रहेको धारणा राखे।